काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत १३ जिल्लाको वडा अधिवेशन दसैंपछि मात्रै हुने भएको छ । एकमात्र निर्वाचन क्षेत्र भएका हिमाली जिल्लामा जिल्ला तहको नेतृत्व चुनिँदैछ । तर, केही जिल्लामा भने कांग्रेसले क्रियाशील सदस्यकै टुंगो लगाउन सकेको छैन ।
केन्द्रीय निर्वाचन समितिका अनुसार कांग्रेसले शनिबार साँझसम्म पनि बारा, सप्तरी, रौतहट र रसुवाका क्रियाशील सदस्यको नामावली दिएको छैन । समितिका सदस्य गोपालकृष्ण घिमिरेले भने, ‘दसैं सुरू हुन अब चार दिनमात्रै बाँकी छ । तर, चार जिल्लाको मतदाता नामावली अझै पाएका छैनौँ । अब दसैंअघि नै यी जिल्लामा अधिवेशन हुने सम्भावना छैन ।’ निर्वाचन समितिले यसअघि नामावली प्राप्त भइसकेका ९ जिल्लामा पनि निर्वाचन अधिकृत नै खटाएको छैन । यी १३ जिल्लामा एकैपटक वडा अधिवेशनबाट प्रक्रिया अघि बढाउने निर्वाचन समितिको तयारी छ ।
‘अब वडा अधिवेशन हुन १३ जिल्ला बाँकी हुन् । ४ जिल्लाको सदस्यता पाएपछि एकैपटक अधिवेशन गरौँ भन्ने हाम्रो तयारी हो,’ समितिका सचिव जगन्नाथ श्रेष्ठले भने, ‘डोल्पामा निर्वाचन सामाग्री लिएर निर्वाचन अधिकृतसहितको टोली गए पनि डोल्पा पुगेकै छैन । अन्यमा जिल्लामा पनि सदस्यताको विवरण प्राप्त भएपछि एकैपटक अधिवेशन गर्ने भनिएको हो । तर, त्यसबारे पनि कुनै निर्णय भएको छैन ।’
चार जिल्लाको क्रियाशील सदस्यको टुंग्याउन ढिला हुँदा कांग्रेसको वडा अधिवेशन नै दसैंपछि धकेलिएको छ । जबकि यसअघि कांग्रेसले दसैंअघि जिल्ला अधिवेशन सम्पन्न गरिसक्ने कार्यतालिका ल्याएका थिए । पछिल्लो पदाधिकारी बैठकमा कम्तीमा पनि पालिका तहसम्मको अधिवेशन सम्पन्न गर्ने भन्ने सहमति बनेको थियो । सहमतिअनुसार नेतृत्वले निर्णय कार्यान्वयन गर्न नसक्दा तल्ला तहको अधिवेशनमा भएको ढिलाईको प्रभावले केन्द्रीय महाधिवेशन नै प्रभावित हुन सक्ने देखिएको छ ।
‘१३ जिल्लामा दसैं अघि वडा अधिवेशन हुने सम्भावना सकियो । अब ती जिल्लामा दसैंपछिमात्रै वडा र पालिका अधिवेशन हुन्छ । त्यसपछि अहिले अधिवेशन नभएका जिल्लामा प्रदेशसभा क्षेत्रीय तहदेखि माथिको अधिवेशन एकैपटक हुन्छ,’ सदस्यताको टुंगो लगाउने कार्यमा खटिएका एक केन्द्रीय सदस्यले भने । ती नेताका अनुसार ४ जिल्लाको सदस्यता टुंग्याउन समस्या भइरहेको छ ।