November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बेलायतद्वारा अन्तर्राष्ट्रिय यात्रा नियम पुनरावलोकन, नेपाल र अफगानिस्तान अझै रेड लिष्टमा

2.9K

लण्डन । बेलायतले अन्तर्राष्ट्रिय यात्रा नियमबारे शुक्रबार पुनरावलोकन गरेको छ । यसअघि कोभिडको संक्रमण दर हेरी हरियो, पहेँलो र रातो सूचीमा विभिन्न मुलुकलाई विभाजन गरिएकोमा अब हरियो र पहेँलोलाई हटाइ रातो मात्र कायम गरिएको छ ।

अक्टोबर ४ देखि लागू हुने बताइएको सो नियम अनुसार रातो सूचीबाहेकका मुलुकबाट बेलायत आउँदा दुवै डोज खोप लगाएकाहरूले अबदेखि पीसीआर टेष्ट गर्नु पर्दैन ।

बेलायतका यातायात मन्त्री ग्रान्ट शापका अनुसार नयाँ नियम नयाँ वर्षसम्म कायम रहनेछ ।

Advertisement

त्यसैगरी सरकारले रातो सूचीमा रहेका विभिन्न आठ वटा मुलुकलाई सेप्टेम्बर २२ बिहान ४ बजेदेखि रातो सूचीबाट हटाउने पनि निर्णय गरेको छ । जसमा बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्स, इजिप्ट, टर्की, ओमान र केन्या रहेका छन् । दक्षिण एसियाका चारवटा देश रातो सूचीबाट हट्दा पनि नेपाल भने अझै रातो सूचीमा रहेको छ । भारत यसअघि नै रातो सूचीबाट हटिसकेको छ भने अब दक्षिण एसियाली मुलुकहरुमा नेपाल र अफगानिस्तान मात्र रातो सूचीमा छन् ।

रातो सूचीमा परेका मुलुकहरुबाट बेलायती नागरिक वा बेलायतको आवासीय अधिकार पाएकाले मात्र बेलायत आउन पाउँछन् । उनीहरूले बेलायतमा आएपछि १० दिन होटल क्वारेन्टाइनमा बस्न पर्ने हुन्छ । सो वापतको शुल्क पनि चर्को छ ।

बेलायतले हरेक तीन सातामा अन्तर्राष्ट्रिय यात्राको नियम पुनरावलोकन गर्ने गरेको छ । अब नेपाल रातो सूचीबाट हट्ने नहट्ने तीन साता पर्खेपछि मात्र थाहा हुनेछ ।