November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन आजदेखि सुुरु, एनआरएनए यूके सहआयोजक

3.5K

लण्डन । गैर–आवासीय नेपाली संघ स्वास्थ्य कमिटीको आयोजना तथा गैर-आवासीय नेपाली संघ युकेको सह-आयोजनामा शुक्रबारदेखि तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सुुरु हुने भएको छ । सम्मेलन १७ सेप्टेम्बरदेखि १९ सेप्टेम्बरसम्म भर्चुवल माध्यम्द्धारा आयोजना हुन लागेको हो ।

एनआरएनएका अध्यक्ष प्रेम गाहा मगर, डा. सञ्जीव सापकोटा, डा. शुनिल शाह, प्रसुना कँडेल, भगिरथ योगी, विपिन निरौला, श्याम लुइंटेल, मन्दिप केसी, डा. जगन कार्की, ज्ञानेन्द्र आले, भरत लिम्बु लगायतका विभिन्न विशिष्ट व्यक्तित्वहरू र पत्रकारहरूको उपस्थितिमा एक भर्चुवल कार्यक्रम गरी उक्त सम्मेलनबारे जानकारी गराइएको छ ।

उक्त कार्यक्रमका बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै विश्व नेपाली स्वास्थ्य सम्मेलनका प्रतिनिधि प्रसुना कँडेलले आफूले नर्सिङ विभाग हेर्ने र सबै नर्सहरुलाई विश्वव्यापी रुपमा सहकार्य गरेर लैजाने बताइन् ।

Advertisement

त्यसैगरी डा. सञ्जीव सापकोटाले ३ दिन हुने कार्यक्रमहरूबारे जानकारी दिँदै तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन नेपाल र नेपालीहरूको स्वास्थ्यबारे सरोकार राख्नेहरूको जमघट हुने विश्वको एकमात्र कार्यक्रम रहेको बताए ।

बोल्ने क्रममा डा. सुनिल शाहले अहिले स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण विषय बनेको बताए । विश्व अझैँ पनि महामारीको सामना गरिरहेको र यस महामारीका कारण हाम्रो भविश्य कस्तो हुनेछ भन्ने थाहा नभएको उनले बताए ।

एनआरएनए अध्यक्ष प्रेम गाहा मगरले ‘स्वास्थ्य नै धन’ रहेको बताउदै विश्व नेपाली स्वास्थ्य सम्मेलन एउटा राम्रो अवसर रहेको बताए । उक्त सम्मेलनबाट कम्तिमा स्वास्थ्य बारे सचेतना जगाउन सके त्यहि नै उपलब्धि हुन सक्ने उनको धाराण थियो ।

सम्मेलन शुक्रबार बेलायत समयअनुसार विहान ८ः१५ र नेपालको समयअनुसार १ बजेबाट सुुरु हुनेछ । त्यसैगरी शनिबार नेपाली दुतावास लन्डनमा २ घण्टाको कार्यक्रम हुनेछ । आइबार बेलायतको समयअनुसार विहान ११ बजेदेखि ५ बजेसम्म अल्डर्शटको प्यालेस हलमा हुनेछ ।