November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कांग्रेस सभापतिमा उम्मेद्वारी घोषणा गर्दै गोपालमान श्रष्ठले भने, देउवाले देश चलाउनु हुन्छ, म पार्टी’

2.5K

स्याङजा –  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

गृह नगर स्याङ्जाबाट सभापतिमा उम्मेद्वारी घोषणा गर्दै श्रेष्ठले वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफूलाई साथ दिनुपर्ने बताए । गुटरहित कांग्रेस बनाउने अभियानलाई सार्थक बनाउन आफूले सभापति पदमा उम्मेदवारी दिन लागेको श्रेष्ठले बताए । सनातन धर्मसहितको धार्मिक स्वतन्त्रता आफ्नो एजेण्डा रहेको समेत उनको भनाइ छ ।

उम्मेदवारीको औपचारिक घोषणापछि उनले प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाको सहयोगमा आफू उम्मेदवार बन्ने जिकिर गरे । ‘देउवाजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँले प्रधानमन्त्री चलाउनु हुन्छ,’ श्रेष्ठले भने, ‘म उहाँको सहयोगमा सभापति उठ्छु । जित्छु र पार्टी चलाउँछु ।’

Advertisement

उनी यस अघिदेखि नै आसन्न महाधिवेशनमा आफू सभापति पदमा उम्मेदवार बन्ने बताउँदै आएका थिए । कांग्रेसका पूर्व उपसभापति समेत रहेका नेता श्रेष्ठ मंसिरमा हुने महाधिवेशनमा सभापति देउवाले आफूलाई सघाउनेमा ढुक्क देखिन्छन् ।

‘देउवाजीले मलाई सहयोग गर्नुहुन्छ भन्नेमा म ढुक्क छु,’ उनले भने, ‘अब उहाँले आफ्नो शुभचिन्तक, कलिग्सलाई उत्तराधिकारी बनाउनु हुन्छ ।’ कांग्रेसको संगठन विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका श्रेष्ठले यसअघिका विभिन्न छलफलका क्रममा देउवाले आफूलाई सघाउने वचन दिँदै आएको पनि स्मरण गरे ।

‘उहाँ (देउवा) ले धेरै पटक मलाई सहयोग गर्ने भनिसक्नु भएको छ,’ उनले भने, ‘मसँग कुरा गर्दा उहाँ गोपालमानजी मैले छोड्ने बेला तपाईंलाई नै छोड्ने हो भन्दै पनि आउनु भएको छ ।’ नेता श्रेष्ठले आफूले यसअघि सभापति देउवाको कार्यवाहक भएर काम गरिसकेको स्मरण गर्दै कारागारमा भएका बेला उनलाई सभापति बनाएको पनि बताए ।

‘मैले उहाँको कार्यवाहक भएर काम गरिसकेको छु । उहाँ जेलमा हुनुहुन्थ्यो, त्यो बेला अधिवेशन गरेर मैले ११ औं महाधिवेशनमा उहाँलाई सभापति बनाएको हुँ,’ श्रेष्ठले भने, ‘१० औं, ११ औं, १२ औं र १३ औंमा म उहाँसँगै छु । अब १४ औंमा पनि सँगै हुन्छौं ।’

उनले बुधबार स्याङ्जा कांग्रेसका कार्यवाहक सभापति कुमार रानाको सभापतित्वमा आयोजित अगुवा कार्यकर्ता भेलामा उम्मेदवारी घोषणा गरेका थिए । यसअघि कांग्रेसका उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य कल्याण गुरुङले औपचारिक रुपमा नै उम्मेदवारी घोषणा गरिसकेका छन् । कांग्रेसका संस्थापन इतर समूह पनि आसन्न महाधिवेशनमा साझा उम्मेदवार चयनको प्रयासमा छ। इतर समूहमा रहेका सभापति पदका आकांक्षीहरुको पटक–पटक छलफल भए पनि साझा उम्मेदवार तय हुन सकेको छैन।