काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको छलफल पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा जारी छ । साढे ८ बजेदेखि जारी वैठकमा क्रियाशील सदस्यता विवाद, जिल्ला सभापतिले शुरु गरेको रिले अनसनको बारेमा छलफल भइरहेको बताइएको छ ।
पौडेल समूहको शीर्ष नेताहरुको बैठकपछि अहिले केही सभापतिहरुसहित बैठक बसिरहेको बताइएको छ । बैठकमा पौडेलसहित महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुननरसिंह केसी, दिलेन्द्र बडु र रामशरण महत्तलगायत नेताहरु सहभागी छन् ।
जिल्ला सभापतिहरूले १४ औं महाधिवेशनको मतदाताको नामावली सार्वजनिक गर्नुपर्ने माग राखेका छन् । कांग्रेसले विहीबार मात्र ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाएको छ । महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन समिति संयोजक महादेव यादवलाई नामावली बुझाएका थिए ।