काठमाडौं– तनहुँमा जारी निषेधाज्ञा भदौ १५ गतेसम्म थपिएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्रले यसअघि जारी निषेधाज्ञालाई १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो।
सोमबार बसेको बैठकले साविककै लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले जानकारी दिए। उनका अनुसार यस अगाडि बिहान ५ देखि १० बजेसम्म खुल्दै आएका खाद्यान्न तथा तरकारी पसल अब बिहान ५ देखि ११ बजेसम्म खुल्नेछन्। त्यस्तै अन्य व्यवसाय बिहान ११ बजेदेखि ६ बजेसम्म खुल्दै आएकामा अब १२ बजेदेखि ६ बजेसम्म खुल्ने निर्णय भएको छ।
सार्वजनिक तथा निजी सवारी साधनलाई जोर–बिजोर लागू गरिएको छ। जिल्लामा बिहान ६ देखि साँझ ६ बजेसम्म मात्र सवारी सञ्चालनको अनुमति दिइएको छ।