November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपाली कांग्रेस क्रियाशील सदस्यता विवाद : समितिले आज प्रतिवेदन बुझाउने

2K

काठमाडौं-  सत्तारुढ नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले तयार पारेको प्रतिवेदन आज (सोमबार) बुझाउँदै छ । समितिले आज अपरान्ह ५ बजे प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

यसका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग समय माग गरिएको समिति सदस्य रमेश लेखकले जानकारी गराए । ‘आज त बुझाउनै भनेका छौं’, लेखकले भने, ‘हिजो केही विषयमा मिलेको थिएन, अहिले लगभग सहमति बनेको छ ।’

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार समितिले अपरान्ह ५ बजेसम्ममा प्रतिवेदन बुझाउने तयारी गरेको छ । ‘हिजो जनै पूर्णिमा पर्व पनि पर्‍यो, केही विषयमा विवाद पनि थियो’, उनले भने, ‘आज साँझ ५ बजेपछि प्रतिवेदन बुझाउने कुरा छ ।’

Advertisement

तर, देउवा निकट एक पदाधिकारीले भने आजै प्रतिवेदन बुझाउनेमा शंका व्यक्त गरे । ‘हिजो पनि बिहानसम्म त मिलेकै भन्ने थियो, तर समितिले प्रतिवेदन बुझाउन सकेन’, उनले भने, ‘हिजो बेलु्की बसेर भएका असमझदारीहरु हटाउने काम भएका छन्, आज सम्भवतः बुझाउँछन् कि’, समितिले सभापतिलाई नबुझाएसम्म मिति तोक्न नसकिने उनले बताए ।

गएको साउन ३० गते पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो । डा. मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिलाई भदौ २ गते क्रियाशील सदस्यता विवरण बुझाउन समय तोकी जिम्मा दिइएको थियो । तर, समितिले भदौ पहिलो साता पुग्दा समेत प्रतिवेदन बुझाउन सकेको छैन । कांग्रेसले यही भदौ १८ गतेबाट वडा अधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।