काठमाडौं- आसन्न साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली पुरुष टोलीले भारतसँग दुई मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाली राष्ट्रिय टोलीले २ र ५ सेप्टेम्बरमा त्रिपुरेश्वरस्थित दशरथ रंगाशालमा भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको जानकारी दिएको हो।
एन्फाका महासचिव इन्द्रमान तुलाधरका अनुसार नेपाल आएर मैत्रीपूर्ण खेल खेल्नका लागि भारतीय टाेलीलाई अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ)ले अनुमति दिसकेको छ।
गत १५ साउनमा बसेको एन्फा कार्यसमिति बैठकले साफको तयारीमा रहेको रहेको टोलीलाई बंगलादेश, भारत, सिंगापुरको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेलाउनका लागि पत्रचार भइरहेको जनाएको थियो।
जसमध्ये प्यालेस्टाइन, भारत र बंगलादेशले काठमाडौं आएर मैत्रीपूर्ण खेल खेल्न प्रस्ताव गरेको थियो। यता, कीर्गिस्तानले पनि नेपालसँग मैत्रीपूर्ण खेल खेल्नका लागि आमन्त्रण गरेको छ।
भारतको चाहना अनरुप नै घरेलु मैदानमा मैत्रीपूर्ण फुटबल खेल्न लागेको एन्फाले जनाएको छ। तर, प्यालेस्टाइन र बंगलादेश काठमाडौं आउने या नआउने कुनै टुङ्गो लागिनसकेको महासचिव तुलाधरले जानकारी दिए।
नेपाल र भारत दुबै टोली साफ च्याम्पियनसिपको तयारीमा रहेका छन् । प्रतियोगिता अक्टोबरमा हुने भनेपनि हालसम्म आयोजकको टुंगो लागेको छैन। यद्यपि, नेपालले प्रतियोगिता आयोजनाको लागि प्रस्ताव भने पठाइसकेको छ।
साफले अर्को साता हुने बैठकमा नेपाल वा माल्दिभ्समध्य एक राष्ट्रलाई आयोजनाको जिम्मेवारी दिनेछ ।
नेपाल र भारतले पछिल्लो पटक दशरथ रंगशालमा ६ वर्षअघि खेलेका थिए। विश्वकप छनोट अन्तर्गत भएको उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो ।
त्यसपछि २०१५ को साफ च्याम्पियनसिपमा नेपाल ४-१ ले पराजित भएको थियो। भने यस्तै, २०१७ को मैत्रीपूर्ण खेलमा नेपालले २-० को हार बेहोरेको थियो ।