November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पृथ्वी राजमार्गको मलेखु–मुग्लिन क्षेत्रमा पहिरो, नदीमा डुबेर एक जना वेपत्ता

2.6K

चितवन –  वर्षाका कारण पृथ्वीराजमार्गको मलेखु मुग्लिन क्षेत्रमा बिहिबार राति पहिरो गएर सडकमा अवरोध पुगेपछि राजमार्गमा यातायात साधन गुड्न पाएका छैनन् ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका १० जवाङखोला र तिकराङमा सडक माथिबाट पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताएका छन् ।

राजमार्गको सडक माथिबाट ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध भएको प्रहरीले जनाएको छ । वर्षा जारी रहेकाले पहिरो हटाउन समेत समस्या भएको छ । गल्छी गाउँपालिकाको बेरैनीमा सडक माथिबाट लेदो बगेर बाटो बन्द भएको छ ।

Advertisement

राजमार्गमा पहिरो हटाउन ठाउँ ठाउँमा डोजर राखिएको र पहिरो आउने बित्तिकै हटाउने गरिएको जिल्ला प्रहरी प्रमुख खड्काको भनाइ छ । अबिरल वर्षाका कारण मलेखु, ताल्ती, बेल्खु खोलामा ठूलो बाढी आएकाले खोला छेउमा बसीरहेका केहीले घर छाडेर सुरक्षित ठाउँमा गएका छन् ।

नदीमा डुबेर एक बेपत्ता
त्रिशूली नदीमा माछा मार्न गएका एक युवा बिहीबार बिहानदेखि नदीमा डुबेर बेपत्ता भएका छन् । धादिङको बेनिघाटरोराङ गाउँपालिका विशालटारनिवासी २२ वर्षीय लक्ष्मण बिसुराल त्रिशूली नदीमा बेपत्ता भएको प्रहरी उपरिक्षक खड्काले बताए । त्रिशुलीमा एक महिनामा तीन जना बेपत्ता भइसकेका छन् ।