काठमाडौं – देशका धेरैजसो भू–भागमा गए रातिदेखि नै निरन्तर पानी परिरहेको छ । अविरल वर्षाका कारण देशभर बाढी–पहिरोको जोखिम बढेको मौसमविदले बताएका छन् । तीन दिन देशका पाँच प्रदेशमा भारी वर्षाको सम्भाजना रहेकाले बाढी, पहिरो तथा डुबानको जोखिम रहेका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
बाढी पूर्वानुमान महाशाखाले आज (बिहीबार) बिहान जारी गरेको सूचनाअनुसार आज कोशी, नारायणीका सहायक नदी तथा पूर्वी राप्ती र कन्काईलगायतमा बहाव बढ्ने सम्भावना छ । यीमध्ये केही नदीको जल सतह सतर्कता तह पुग्न सक्ने देखिएको छ । यस्तै कमला, बागमतीलगायत नदीमा पनि बहाव सतर्कता तह पार गरी खतरा तहसम्म पुग्न सक्ने अनुमान छ ।
सिन्धुपाल्चोकका शेर्माथाङ, धाप र चौतारा वर्षामापन केन्द्रमा हिजो बेलुकादेखि लगातार मध्यमदेखि भारी वर्षा मापन भएको छ । थप वर्षा हुने सम्भावना रहेको छ । मेलम्ची बजारलगायत तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
आज बिहान सिन्धुलीस्थित कमला नदीको रानीबास बाढी मापन केन्द्रमा जल सतहले खतरा तह पार गरेको छ । धनुषा, सिरहालगायत तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा रातिसम्मै सतर्कता अपनाउन आग्रह गरिएको छ ।
सिन्धुलीकै मरिनखोला कुसुन्तार वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएको छ । मरिन कुसुन्तार, वाग्मती राइगाउँ, पधेरादोभानलगायत बाढी मापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको जनाइएको छ । उक्त जलाधारका नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा आज दिउँसोसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यस्तै, तनहुँको विमलनगर वर्षामापन केन्द्रमा र बाराको कलैया वर्षामापन केन्द्रमा पनि भारी वर्षा मापन भएको छ । आकस्मिक बहाव आउन सक्ने भएकाले तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । सूचनामा भनिएको छ : ‘तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउन हुन अनुरोध छ ।’
