November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

युराेकप ‘हाइ ड्रामा’ : पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै स्विट्जरल्याण्ड क्वाटरफाइनलमा

2.7K

काठमाडाैं-  पेनाल्टी सुटआउटमाविश्वकप विजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्याण्ड जारी युराेकप २०२० काे क्वाटरफाइनलमा पुगेकाे छ।

रोमानियाको नेशनल एरिनामा मंगलबार बिहान भएकाे प्रि–क्वाटरफाइनलमा पेनाल्टी सुटआउटमा ५- ४ जित निकाल्दै  स्विट्जरल्याण्ड अन्तिम ८ मा पुगेकाे हाे।

पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभिएर जिरुड, मार्कस थुराम, प्रेस्नेल किम्पेम्बेले गोल गरे। तर, केलियन एमबाप्पे पेनाल्टीमा गोल गर्न चुके। यता, स्विट्जरल्याण्डका मारियो गाभ्रानोभिच,  फाबियन सेर, अकान्जी  म्यानुएल,  रुबेन भेर्गास, एडमिर  मेहमेदी पेनाल्टीमा गोल गरे।

Advertisement

यस अगाडि निर्धारित ९० मिनेटकाे खेल ३-३ गाेलकाे बराबरीमा सकिएपछि ३० मिनेट अतिरिक्त समय थपिएकाे थियाे। तर, उक्त ३० मिनेटमा पनि दुवै टाेलीबाट गाेल हुन सकेन र खेल ‘हाइ ड्रामा’मा पुगेकाे थियाे।

त्यसअगाडि खेलमा हरिस सेफेरोभिच गोलमार्फत् स्विट्जरल्याण्डले सुरुवाती अग्रता लिएकाे थियाे। खेलकाे१५औं मिनेटमा बायाँ विंगबाट स्टिभन जुबरले दिएको क्रसलाई सेफेरोभिचले हेडरमार्फत् बटम कर्नरमा गोल गरेका थिए।

२६औं मिनेटमा एम्बाप्पेको फ्रिकिक वालमा लगेर फर्केको थियो। उक्त रिबाउन्डमा एम्बाप्पेको प्रहार बाहिरिएको थियो। पहिलाे हाफमा केही सुस्त देखिएकाे फ्रान्सले दाेस्राे हाफमा सुधारिएकाे खेल प्रदर्शन गरेकाे थियाे। 

यद्यपि, ५५औं मिनेटमा स्विट्जरल्याण्डले गाेलकाे अवसर खेर फ्याल्याे। फ्रान्सका बेन्जामिन पाभार्डले जुबरलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि भिडियाे असिस्टेन रेफ्री (भीएआर) मार्फत् स्विट्जरल्याण्डले पेनाल्टी पाएकाे थियाे। जसलाई रिकार्डाे राेड्रिग्वेजले सदुपयाेग गर्न सकेनन्। 

उनकाे प्रहार गाेलरक्षक ह्युगाे लाेरिसले बायाँतर्फ डाइभ हान्दै सहजै समाते।

५७औं मिनेटमा करिम बेन्जेमाकाे गाेलमार्फत् फ्रान्स खेलमा फर्कियाे। डिबक्सबाट हुलमुलमा एन्टोनी ग्रिजम्यानले दिएकाे पासमा उनले ६ यार्डबाट गरेकाे प्रहार गाेलमा परिणत भएकाे थियाे।

त्यसकाे दुई मिनेटमै बेन्जिमाले दाेस्राे गाेल थपे। ५९ मिनेटमा ग्रिजम्यानले ६ यार्डबाटै गरेकाे प्रहार गाेलरक्षक ह्युगो लोरिसकाे हातमा लाग्दै रिबाउन्ड भएकाे बललाई गाेल लाइनबाटै बेन्जिमाले हेड गर्दै गाेल गरे। 

बेन्जिमाकाे याे ३३औं अन्तर्राष्ट्रिय गाेल हाे। जारी प्रतियाेगितामा उनकाे याे चाैथाे गाेल हाे। उनले समूह चरणकाे खेलमा पूर्वविजेता पाेर्चुगलविरुद्ध दुई गाेल गरेका थिए। रियल मड्रिडबाट देखाइरहेको उच्च फर्मका कारण उनलाई फ्रान्सले करिब ६ वर्षपछि टोलीमा फिर्ता बोलाएको थियो। 

विभिन्न हर्कतका कारण उनलाई २०१५ देखि फ्रान्सको राष्ट्रिय टोलीमा राखिएको थिएन। उनले घरेलु मैदानमा भएको युरो २०१६ मात्र गुमाएका थिए। 

यस्तै, २०१८ मा रुसमा सम्पन्न विश्वकप पनि उनले गुमाए। उनीबिनाको फ्रान्सले दोस्रोपटक विश्वकप जितेको थियो। 

यस्तै, खेलकाे ७५ मिनेटमा पाेउल पाेग्बाले गाेल गर्दै फ्रान्सलाई ३-१ काे स्थितिमा पुर्‍याए। उनले बेन्जिमाले गरेकाे प्रहार स्विट्जरल्याण्डका डिफेन्डरलाई लागेर फर्किएकाे बललाई डिबक्सभन्दा निकै बाहिरबाट टप कर्नरबाट छिराएका थिए। 

पाेग्बा तिनै खेलाडी हुन् जसले सन् २०१८ काे क्राेएसियाविरुद्धकाे फाइनल खेलमा गाेल गरेका थिए। उक्त खेलमा फ्रान्सले ४-२ काे जित हात पारेकाे थियाे।

यस्तै, ८१ मिनेटमा सेफेरोभिचले पुन: गाेल गर्दै स्विट्जरल्याण्डलाई खेलमा फर्काउने काेसिस गरेका थिए। केभिन एम्बाबुले फ्रान्सकाे डिफेन्डरलाई चिर्दै दिएकाे हाइ बललाई सेफेराेभिचले हेडमार्फत् गाेल गरेका थिए।

एम्बाबु दाेस्राे हाफमा वैकल्पिक खेलाडीकाे रुपमा मैदान छिरेका थिए। सेफेरोभिचकाे याे प्रतियाेगितामा चाैथाे गाेल हाे। यस अगाडि २ युराेकपमा उनले कुनै गाेल गर्न सकेका थिएनन्।

यस्तै, ९० औं मिनेटमा मारियो गाभ्रानोभिकले गाेल गर्दै खेल ३-३ काे बराबरीमा ल्याए। ग्रानिट झाकाको पासमा उनले प्रेस्नेल किम्पेम्बेलाई छक्याउँदै गरेको प्रहारलाई लोरिसले डाइभ दिएपनि बचाउन सकेनन्।  त्यसभन्दा अगाडि गाभ्रनोभिचले गोल गरेपनि रेफ्रीले उनी अफसाइड पोजिसनमा रहेका कारण त्यसलाई मान्यता दिएनन्।

अब स्विट्जरल्याण्डले क्वाटरफाइनलमा स्पेनसँग खेल्नेछ। स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५-३ ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाइसकेकाे छ।