काठमाडौं- काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने वा नगर्नेबारे भोलि निर्णय गरिने भएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सोमबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर उपत्यकामा लागू हुनेगरी निषेधाज्ञासम्बन्धी अर्को आदेश जारी गर्ने बताएका हुन्।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण तथा पसलहरुलाई नियमित खोल्नुपर्ने लगायतका सुझावहरु दिएको भए पनि उपत्यकाका तीनवटै जिल्लाको आ-आफ्नो वस्तुस्थितिलाई हेरेर निर्णय गर्नुपर्ने भएकाले आफूहरु परामर्शमै रहेको उनले बताए।
उपत्यकामा संक्रमणदर घटेको भए पनि धेरै नघटेकाले विवेकसम्मत् निर्णय गर्नुपर्ने अवस्था रहेको उनले बताए। निषेधाज्ञा पूरै नखोल्न र लामो दूरीका सवारीसाधनलाई अझै एक/डेढ हप्ता खोल्न नहुने सुझावहरु आएको उनले जानकारी दिए।