November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एमाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटी विघटन हुने

2.4K

काठमाडौं –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशन आयोजक कमिटी विघटन गर्ने भएका छन् ।
बुधबार आयोजक कमिटीको बैठक बोलाएर त्यसैमा आयोजक कमिटीको विघटन गर्ने तयारी ओलीले गरेका हुन् ।

‘बुधबार बस्ने आयोजक कमिटीले अध्यक्ष ओलीले एकताका लागि अघि सार्नु भएको ६ बुँदे प्रस्तावलाई अनुमोदन गर्ने र केन्द्रीय कमिटीको बैठक बोलाउने छ’, एमाले केन्द्रीय सदस्य विष्णु रिजालले सुनाए, ‘त्यसपछि केन्द्रीय कमिटीको बैठक बस्ने छ ।’ रिजालका अनुसार बुधबारै नभए बिहीबार केन्द्रीय कमिटीको बैठक बस्ने छ । बुधबार बस्ने बैठकले पार्टी अध्यक्षको आह्वान र पार्टी एकताको भावना अनुसार पार्टीलाई साविककै केन्द्रीय कमिटीमा फर्काउने भनेर निर्णय गर्ने रिजालले बताए ।

यसबाट एकताको स्प्रीटलाई सम्बोधन हुने र अदालती झन्झटबाट पनि मुक्त हुने उनको भनाई छ । प्रधानमन्त्री ओलीले केही समयअघि एकताका लागि ६ बुँदे आह्वान गरेका थिए । जसमा मुलत २०७५ जेठ ३ गतेको नेकपा एमालेको कमिटी ब्युँत्याउने भनिएको थियो ।
तर असन्तुष्ट रहेको माधवकुमार नेपाल पक्षले भने त्यसलाई अस्वीकार गरेको थियो । नेपाल पक्षले माओवादीसँग एकीकरण गर्नुअघि अर्थात २०७५ जेठ २ गतेको कमिटी ब्युँत्याउनु पर्ने माग गर्दै आएका छन् ।

Advertisement

सर्वोच्च अदालतले दशौं महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक भनि फैसला गरेपछि ओली पक्षलाई उक्त कमिटी कानुनी रुपमा अघि बढाउन पनि अफ्ठ्यारो परेको थियो । आयोजक कमिटीको गठन प्रति नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएको थियो ।

उनीहरुले फागुन २३ मा सर्वोच्च अदालतको आदेशपछि भएका अध्यक्ष ओलीले एकलौटी रुपमा निर्णय गरेको भन्दै आरोप लगाउँदै आएका छन् । चैत ७ गते पूर्व माओवादीबाट एमाले आएका नेताहरुलाई समेत राखेर आयोजना गरिएको केन्द्रीय कमिटीको बैठकले २६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।+