काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री तोक्नुको विकल्प नभएको बताएका छन् ।
शनिबार विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेर देउवालाई प्रधानमन्त्री तोक्नुको विकल्प नभएको बताएका हुन् । उनले भने, ‘१४९ जना सांसदको हस्ताक्षर र १४६ सांसदको रिट सर्वोच्चमा छ । सर्वोच्चसँग देउवालाई प्रधानमन्त्री तोक्नुको विकल्प छैन ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओली आफैं अग्रसर भएर अदालतलाई धम्क्याउन थालेको आरोप लगाए । ‘मैले बोल्दै नबोलेको कुरा पनि बोलेको भनेर प्रचार गरियो । संविधानअनुसार अदालतले पक्कै गर्छ भनेको हुँ । अहिले पनि भन्छु, संसद पुनर्स्थापना हुनुपर्छ, प्रधानमन्त्री शेरबहादुर देउवाजी नै हुनुपर्छ,’ उनले भने, ‘कहिले महान्यायाधिवक्ताबाट थर्काउन लगाउने, अहिले त मलाई देखाएर आफैं अग्रसर भए ।’