काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यका संयन्त्रहरू कमजोर भएको बताएका छन्। उनले संवैधानिक निकायहरू यति कमजोर भएको आफूले यसअघि कहिल्यै नदेखेको बताए।
‘राज्यका संयन्त्रहरू अहिले जति कमजोर कहिल्यै भएका थिएनन्। अहिले प्रत्येक संवैधानिक निकायहरू कमजोर भएका छन्। शब्द बढी भन्दा केके हुने हो। तर यति कमजोर त कहिले पनि देखिएको थिएन। अख्तियारको पनि शान थियो। अहिले छैन। निर्वाचन आयोग विचरा, लाज पनि नहुने रहेछ कि के हो साथीहरुलाई’, उनले भने।
बिहीबार सम्पादकहरूसँगको अन्तर्क्रियामा उनले राष्ट्रपति संविधानको संरक्षक भनिए पनि त्यसको इज्जत गुम्दै गएको बताए। ‘राजा भनेको त एउटा शान थियो नि! अहिले शान पनि छैन, मान पनि छैन। इज्जत पनि छैन। हामीले बनाएको संस्था, राष्ट्रपति त संस्था हो नि’, उनले भने।