November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

युराेकप : समूह चरणमा इटालीकाे शतप्रतिशत जित

2K

काठमाडाैं- उपाधि दाबेदार इटालीले १६औं संस्करणको युरोकप फुटबलकाे समूह चरण अन्तर्गतकाे खेलमा शतप्रतिशत जित हासिल गरेकाे छ।

रोममा आइतबार भएकाे खेलमा घरेलु टिम इटालीले वेल्सलाई १-० ले पराजित गर्दै ग्रुप चरणमा शतप्रतिशत जित निकालेकाे हाे।

खेलको ३९औं मिनेटमा माटियो पेसीनाले गरेकाे गोल नै इटालीका लागि प्रयाप्त बन्याे। उनले मार्को भेराट्टीको फ्रिकिक पासमा गोल गरेका हुन्।

Advertisement

५३औं मिनेटमा फेडेरिको बर्नार्डेस्कीले झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक पोस्टमा लाग्दै बाहिरिएकाे थियाे।

त्यसको २ मिनेटपछि वेल्सका इथान अम्पादुले बर्नार्डेस्कीलाई मिडफिल्डमा गरेको ट्याकलमा रेफ्रीले सिधै रातो कार्ड दिएका थिए। अम्पादुले सिधै उनको बुटमा कुल्चिन पुग्दा रेफ्रीले राताे कार्ड दिएका हुन्।

७५औं मिनेटमा किएफ मुरले हेडरमार्फत निकालेको सहज पासमा अनमार्क रहेका कप्तान ग्यारेथ बेलको प्रहार बाहिरिएकाे थियाे। 

इटाली नकआउट चरणमा प्रवेश गरिसकेको छ। 

समूह ’ए’को अन्तिम खेल समाप्त भएसँगै इटाली ३ खेलमा ९ अंक जोड्दै शीर्षस्थानमा रह्यो। पहिलो खेलमा इटालीले टर्कीलाई ३–० ले हराएको थियो। यस्तै दोस्रो खेलमा इटालीले स्विजरल्याण्डलाई ३–० गोल अन्तरले नै हराएको थियो।

वेल्स र स्विट्जरल्यान्डको समान ४-४ अंक भएपनि गोलअन्तरको आधारमा वेल्स दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरे। 

वेल्सले ३ खेलमा ४ अंक जोडेको थियाे। पहिलो खेलमा स्विजरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २–० गोल अन्तरले पराजित गरेको थियो।

यसअघि वेल्स र स्विट्जरल्याण्डले खेल १-१ को बराबरीमा सकिएको कारण गोलअन्तरले नै समूहमा स्थानको छिनोफानो भएको हो।

४ अंक जोडेको स्विट्जरल्याण्ड भने अब अन्य समूहको तेस्रो स्थानको नतिजा प्रतीक्षा गर्नुपर्ने छ। टर्की भने अंकविहिन रहँदै युरोबाट बाहिरिएको छ।