साउदी अरेबिया आउनु अघि कोरोना विरुद्धको खोप लगाए नलगाएको बारे अनलाइन दर्ता अनिवार्य गर्नुपर्ने भएको छ ।
साउदी अरेबियाको सरकारी निकायले विदेशी नागरिक सबैले खोप लगाए नलगाएको बारे प्रस्थान अगाडी नै अनलाइन मार्फत दर्ता गर्नुपर्ने जनाएको छ । प्रस्थान अगाडी नै अनलाइन मार्फत दर्ता गर्दा अध्यागमन प्रक्रिया पनि सहज हुने र साउदी अरेबिया प्रवेश गर्दा यात्रुले गर्नु पर्ने प्रक्रियाका लागि पनि धेरै समय कुर्न पर्ने छैन ।
अनलाइन मार्फत खोपको अवस्थाबारे खाडी राष्ट्रका नागरिकहरू, नयाँ भिसा लिएर जाने विदेशी नागरिकहरू, बसोबासको भिसा भएकाहरू र उनीहरूसँग जाने सहयात्रीले पनि दर्ता गर्न पर्ने बताएको छ ।
कोरोना सङ्क्रमण रोकथाम र साउदीमा बसोबास गरिरहेका नागरिकको सुरक्षाका लागि यस्तो नियम ल्याएको साउदी अरेबियाले जनाएको छ । यस कार्यले कोरोना फैलिनबाट रोकिने साउदी सरकारले विश्वास लिएको छ ।