काठमाडौं– कोपा अमेरिका फुटबलअन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा आयोजक ब्राजिलले जित हात पारेको छ। पेरुलाई ४–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो जित दर्ता गरेको हो।
ओलम्पिक निल्टन सान्तोस स्टेडियममा सम्पन्न खेलमा ब्राजिलका एलेक्स सान्ड्रो, नेयमार, एभर्टन रिबेरो र रिचार्लीसनले एक/एक गोल गरे।
खेलको १२ औं मिनेटमा एलेक्सले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हापमा १–० गोल अन्तरले अघि रहेको ब्राजिलले दोस्रो हापमा थप ३ गोल गर्यो।
खेलको ६८ औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई २–० को अग्रता दिलाए। ब्राजिलका लागि नेयमारको यो ६८औं गोल हो।
खेलको ८९ औं मिनेटमा एभर्टनले गोल गर्दा ब्राजिलले ३–० को अग्रता बनायो। इन्जुरी समयमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई ४–० को जित दिलाए। जितसँगै समूह ’बी’ मा रहेका ब्राजिलले २ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ।
ब्राजिलले पहिलो खेलमा भेनेजुएलालाई ३–० गोल अन्तरले पराजित गरेको थियो।पहिलो खेलमै हार ब्यहोरेको पेरु समूहको पुछारमा रहेको छ।
यसै समूहको अर्को खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेलेका थिए। कोलम्बिया २ खेलमा ४ अंक जोडेर समूहको दोस्रो स्थानमा छ भने एक अंक जोडेको भेनेजुएला तेस्रो स्थानमा रहेको छ।