काठमाडाैं- साविक उपविजेता फ्रान्सले १६औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेकाे छ। एलिएन्ज एरिना म्युनिख जर्मनीमा भएकाे खेलमा फ्रान्सले घरेलु टाेलीलाई ०-१ ले पराजित गरेकाे हाे।
ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’को खेलमा जर्मन डिफेन्डर म्याट्स हमल्सले गरेको आत्मघाती गोल नै निर्णायक बनेकाे थियाे। पहिलो हाफमा बल पोसेसनमा पकड जमाएपनि जर्मनीले गोल फर्काउन सकेन। फ्रान्सले पनि केही अवसर खेर फालेको थियो।
२०औं मिनेटमा पल पोग्बाले पेनाल्टी क्षेत्रको बाहिरबाट दिएको पासलाई लुकास हर्नान्डेजले लो क्रस गर्दा डिफेन्डर हमल्सले क्लियर गर्न खाेज्दा आत्मघाती गोल हुन पुगेकाे थियाे।
हमल्स युरोकप २०२० मा आत्मघाती गाेल गर्ने तेस्राे खेलाडी हुन्। यस अगाडी उद्घाटन खेलमा टर्कीका मेरिह डेमिरलले इटालीविरुद्ध आत्मघाती गोल गरेका थिए।
यस्तै, पोल्याण्डका गोलरक्षक वोजचिएक सेचेज्नीले स्लोभाकियाविरुद्ध आत्मघाती गोल गरेका थिए।
२२औं मिनेटमा रोबिन गोसेन्सको क्रसमा थोमस मुलरले गरेकाे प्रहारले पोस्टको दिशा लिन सकेन। २७औं मिनेटमा टोनी क्रुसको प्रहार गोलरक्षक ह्युगो लोरिसले सहजै समातेका थिए।
५२ औं मिनेटमा एड्रीएन राबीओटले वन भर्सेस वनको स्थितिमा गरेको प्रहार पोस्टमा लागेर बाहिरियो। ५३ औं मिनेटमा जर्मनीका गोसेन्सको क्रसमा सर्ज गनाब्रीले गरेकाे प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरिएको थियो।
६६ औं मिनेटमा एमबाप्पेले पोग्बाको पासलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्र भित्रबाट सुन्दर फिनिस गरेका थिए। तर, असिस्टेन्ट रेफ्रीले अफसाइड दिए।
७९औं मिनेटमा वन भर्सेस वनको स्थितिमा एम्बापपे गाेल गर्न असफल भए। ८५ औं मिनेटमा किलीयन एम्बापपेको क्रसमा करीम बेन्जेमाले गोल गरे। तर, भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले गोललाई मान्यता दिएन। ८८औं मिनेटमा लेरोए सानेको फ्रिकिक बाहिरिंदा जर्मनीले खेल बराबर गर्ने अवसर गुमायो।
यी दुई टोलीको पछिल्लो ८ खेलको नतिजामा फ्रान्स चार खेलमा विजयी हुँदा जर्मनीले दुई खेल जितेको थियो। दुई खेलभने बराबरीमा सकिएको थियाे। पछिल्लो पाँच खेलमा फ्रान्स जर्मनीसँग अपराजित छ।
सन् २०१४ को विश्वकपको क्वाटरफाइनलमा फ्रान्स जर्मनीसँग १–० ले पराजित भएको थियो। त्यसयता फ्रान्सले ३ खेल जित्दा २ खेल बराबरीमा सकिएको थियाे। पछिल्लोपटक २०१८ को नेशन्स लिगमा फ्रान्सले २–१ को जित निकालेको थियो।
तर, यश अगाडी फ्रान्स र जर्मनी युरोकपमा अहिलेसम्म जम्मा १ पटक आमुनेसामुने भएका छन्। २०१६ को सेमिफाइनलमा फ्रान्सले जर्मनीलाई पराजित गरेको थियो।
जितसँगै फ्रान्स ३ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेको छ। साविक विजेता पोर्चुगलको पनि समान ३ अंक छ। तर, पोर्चुगल गोलअन्तरमा अगाडी छ। अंकविहीन जर्मनी र हंगेरी पुछारमा छन्।
आजै भएकाे खेलमा पोर्चुगलले घरेलु टोली हंगेरीलाई ०-३ गाेलले पराजित गरेकाे थियाे। बुढापेस्टस्थित पुस्कास एरेनामा भएकाे खेलमा पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे। यता, राफायल गुइरेरोको नाममा एक गोल रह्यो।