हेटौंडा : बागमती प्रदेशको प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन् । शुक्रबार बसेको संसद बैठकमा वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका थिए। उनले उक्त अभिव्यक्ति शनिबार बसेको संसद बैठकको सुरुवातमा नै समय लिएर उक्त अभिव्यक्ति फिर्ता लिएका हुन् ।
बैठकको सुरुवातमै सभामुख सानुकुमार श्रेष्ठले वैद्यलाई समय दिएका थिए। वैद्यले वाक स्वतन्त्रताको प्रयोग गरेर निर्धक्कसँग बोल्न पाउने अधिकारको प्रयोग गर्दै बोल्ने क्रममा आफूले आवश्यकताभन्दा धेरै बोलेको भन्दै माफी मागेका छन्।
‘प्रधानमन्त्री ओलीसँग मेरो व्यक्तिगत रिस छैन,’ सांसद वैद्यले भने, ‘संसदमा निर्धक्क बोल्न पाउने अधिकार प्रयोग गरेर बोलिरहदा मैले स्वतन्त्रतालाई धेरै प्रयोग गरेर त्यस्तो बोल्न पुगेछु। त्यसलाई म फिर्ता लिन चाहान्छु।’
वैद्यले आफूले दिएको अभिव्यक्तिको सामाजिक सञ्जालमा धेरै प्रतिक्रिया आएको र पार्टीले पनि आत्मालोचना गर्न निर्देशन दिएको भन्दै अभिव्यक्ति फिर्ता लिएका हुन्। ‘म महात्मा गान्धीलाई धेरै नै मान्ने मान्छे हो। बोलेर पनि कसैलाई हिंसा गर्नु हुँदैन भन्ने मलाई लाग्छ,’ उनले भने, ‘तर प्रधानम्नत्री ओलीको पछिल्लो गतिविधिले गर्दा आवेगमा आएर मैले त्यस्तो बोल्न पुगेछु।’
सांसद वैद्यले लिखित रुपमा अभिव्यक्ति फिर्तासम्बन्धी पत्र पढेर माफी मागेका थिए।