काठमाडाैं- नेपाली फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पुन: खेलाडीमाथि दाेष नलगाउन आग्रह गरेका छन्।
शनिबार इराकविरुद्धकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टिमसँग ६-२ गाेल अन्तरले पराजित भएपछि उनले यसकाे जिम्मेवारी आफैंले लिने भन्दै खेलाडीलाई केही नभन्न आग्रह गरेका हुन्।
इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले दुई गोल गरे। यस्तै, कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहमद अलि अलसम्मारी र सज्जाद जसिमले एक/एक गोल थपे।
नेपालका मनिष डाँगीले एक गोल फर्काए भने इराकका अहमेद इब्राहिम खलाफले एक गाेल उपहार दिएका थिए।
‘म सबै नेपालीसँग माफी माग्न चाहन्छु। हामीले राम्रो नतिजा निकाल्न सकेनौँ’, प्रशिक्षक अलमुताइरीले भने, ‘कुनै खेलाडीलाई केही नभनौँ। यो हारको लागि उत्तरदायी व्यक्ति म मात्र हुँ।’
उनले पराजयकाे कारण अभ्यास भएकाे बताएका छन्। उनले प्रयाप्त अभ्यास गर्न नपाएकाे भन्दै दुखेसाे पाेखेका छन्।
‘मात्र ११ १२ दिनको अभ्यास पछिको खेल हो। हामीले प्रयाप्त समय पाएनाैं। हामीलाई समय चहिन्छ र धैर्यता पनि उत्तिकै महत्वपूर्ण छ। केही समय पर्खौं,’ खेलपछि उनले भने।
उनले पुन: नेपालले राम्राे खेल खेल्ने विश्वास दिलाए। ‘नेपाल टाेलले राम्रो खेल्नेछौँ। हामीले आज नेपालीलाई धेरै खुशी पार्न सकेनौँ होला। आज दुई गोल गर्यौँ। लिड गर्नका लागि हामी धेरै नजिक थियौँ। तर, यो फुटबल हो,’ उनले भने।
इराकको बसरास्थित अल फयहा अन्तर्राष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग ठ्याक्कै दुई दशकपछि खेलेकाे हाे। नेपालले सन् २००२ को फिफा विश्वकप छनोटमा इराकसँग दुई खेल खेलेको थियो। दुवै खेलमा नेपाल पराजित भएको थियो।
कजाखस्तानको अलमाटीस्थित अलमाटी सेन्ट्रल स्टेडियममा भएको दोस्रो खेलमा भने नेपाल ४-२ गोल अन्तरले पराजित भएको थियो। उक्त खेलमा निराजन र हरि खड्काले एक-एक गोल गरेका थिए। त्यसअघि सन् १९८२ मा पहिलो पटक नेपाल र इराक एसिया कपमा भिडेका थिए। त्यो खेलमा नेपाल ३-० गोलले पराजित भएको थियो।
फिफा वरीयतामा नेपालभन्दा इराक १ सय ३औं स्थानमाथि छ। फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८औं स्थानमा छ। नेपाल १ सय ७१औं स्थानमा छ। इराकविरुद्धको खेल कुवेती प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक अलमुताइरीको पहिलो खेल थियाे।
यद्यपि, नेपालभको प्रदर्शन भने विगतभन्दा केही सुधारिएको देखियो। नेपालले पहिलो हाफमा प्रभावशाली प्रदर्शन गरेकाे थियाे। खेलकाे ३७औं मिनेटसम्म पनि डिफेन्स र गोलरक्षणमा समन्वय राम्राे भएकाे देखिएकाे थियाे।
खासगरी माल्दिभ्सको क्लब टिसी स्पोट्र्स र भारतको आइ लिगमा खेल्ने पञ्जाबकाे व्यावसायिक फुटबल क्लब, मिनार्व पञ्जाबमाबाट खेलिसकेका किरण र इन्डोनेसियन क्लब पर्सिजा जकार्ताबाट व्यावसायिक रूपमा फुटबल खेल्ने राेहित चन्दबीच समन्वय राम्राे भएकाे थियाे।
खेलको दोस्रो मिनेटै कर्नरमा हेडीङ गर्ने क्रममा विपक्षी खेलाडीको टाउकोमा जुध्दा रोहित घाइते भएका थिए। यद्यपि, उनी फेरि उठे र खेलेका थिए।
१३औं मिनेटमा अन्जनले डिफेन्डरको गल्तिको फाइदा उठाउँदै गरेको प्रहारलाई गोलरक्षक फाहद तालिम रहिमले बचाए। त्यस लगत्तै इराकले केही उत्कृष्ठ मुभ सिर्जना गरेपनि नेपालको रक्षापंक्तिलाई ताेड्न भने सकेन।
यद्यपि, खेलकाे १८ मिनेटबाट नेपाल खेलाडी थाक्न थालेका थिए। त्यसकाे माैका भने इराकले लियाे। २७औं मिनेटमा इराकका खेलाडीकाे क्रसमा आएको हेडरलाई बचाउँदै किरणले बचाए।
उक्त बलमा काउन्टरमा अट्याक गर्न खाेज्दाले पेनाल्टी क्षेत्रबाहिर ह्याण्ड गरे। तर, इराकले पनि खेलमा नियन्त्रण गुमाउँदै गयाे। ३०औं मिनेटमा सन्तोष तामाङको पासलाई अफसाइड ट्रयाप बिट गर्दै गोलरक्षक अघि बढेको अवस्थामा मनिषले गोल गरे। ३९औं मिनेटमा इराकले अग्रता लियो। रोहितले दिएको ब्याकपासमा किरण निकै पछाडी हुँदा अयमन हुसेनले गाेल गरे।
प्राेसरमा आएकाे नेपालले दाेस्राे हाफमा तीन खेलाडी परिवर्तन गरेकाे थियाे। सुनिल बल, अभिषेक रिजाल र विशाल राई मैदान प्रवेश गरेका थिए। उनीहरु सन्तोष तामाङ, नवयुग श्रेष्ठ र मनिष डाँगीको स्थानमा मैदान छिरेका थिए।
दोस्रो हाफमा इराकले खेलाडी परिवर्तनसँगै खेलमा आफ्नो गति कायम नै राख्दा नेपाल भने कमजोर सावित भयो। दोस्रो हाफको सुरुवातमा इराकले दबाब बनाएपनि गोल गर्न भने निकै संघर्ष गर्नुपर्यो। ६८ औं मिनेटमा सुमन अर्यालको खराब ब्याक पासको फाइदा उठाउँदै इराकले गाेल गरेकाे थियाे।