November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कल्पनाले वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिक खेल्न पाउने

2.9K

काठमाडौं : नेपालकी सुटिङ खेलाडी कल्पना परियारले जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्ने भएकी छिन्। वाइल्ड कार्ड प्राप्त गरेपछि त्रिभुवन आर्मी क्लबकी कल्पनाले टोकियोमा जुलाई २३ देखि अगस्ट ८ सम्म हुने ओलम्पिक खेल्न पाउने भएकी हुन्।

नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले वाइल्ड कार्ड प्राप्त गरेसँगै कल्पनाले नेपालको प्रतिनिधित्व गर्दै टोकियो ओलम्पिक खेल्ने निश्चित भएको जानकारी दिए। ओलम्पिकमा कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छिन्। उनी टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गर्ने पहिलो नेपाली खेलाडी हुन्।

‘नेपाल ओलम्पिक कमिटी र नेपाल सुटिङ संघको ठूलै लविङपछि कल्पनाले वाइल्ड प्राप्त गरेकी छिन्,’ संघका अध्यक्ष श्रेष्ठले भने,‘हामीले दुई वर्षदेखि नै गरेको प्रयासको प्रतिफल हो।’ पोहोर दिल्लीमा सुटिङको विश्वकपमा नेपाल ८० औँ स्थानमा आएपछि कतारको दोहामा क्वालिफाइड प्रतिष्प्रधामा कल्पनाले भाग लिएकी थिइन्।

Advertisement

उक्त प्रतिष्प्रधामा कल्पनाले ६ सय १३ दशमलव ९ अंक जोडेर ४७ औं स्थानमा रहिन्। त्यसपछि उनलाई ६ महिना क्लोज क्याम्पमा राखेर थप प्रशिक्षण दिइएको थियो। वाइल्ड कार्डको निम्तो पत्र आएपनि औपचारिक घोषणा जुन ८ को ओलम्पिक कमिटीको बैठकबाट हुने श्रेष्ठले बताए।

नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले बिहीबार मात्र वाइल्ड कार्डका लागि निमन्त्रणा पत्र कमिटीमा आइपुगेको जानकारी दिए।

टोकियो ओलम्पिकमा अहिलेसम्म कल्पनासँगै चार खेलाडीले सहभागिता जनाउने निश्चित भएको छ। अन्य तीन खेलाडीमा पौडीका गौरिका सिंह र एलेक्स शाह तथा म्याराथनका गोचीचन्द्र पार्की रहेका छन्। पौडी र एथ्लेटिक्समा ओलम्पिक्समा सहभागी सबै राष्ट्रले सोझै सहभागिता जनाउन पाउछन्।

ओलम्पिकका अन्य खेलमा सहभागी हुन कि छनोट चरण पार गर्नुपर्छ, कि वाइल्ड कार्ड पाउनुपर्छ। टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ।

सन् २०२१ मा भएपनि यो प्रतियोगितालाई टोकियो ओलम्पिक २०२० नै नामाकरण गरिएको छ। गत वर्ष नै हुनुपर्ने सो ओलम्पिक विश्वब्यापी कोरोना महामारीले सरेको हो।