काठमाडौं– भारतमा दैनिक रुपमा उच्च संख्यामा कोरोना संक्रमितको संख्या बढिरहेको छ। पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ६२ हजार ४०६ जना नयाँ संक्रमित थपिएका हुन्।
अघिल्लो दिनको तुलनामा संक्रमितको यो संख्या बढी हो। अघिल्लो दिन भारतमा ३ लाख ४८ हजारभन्दा बढी संक्रमित थपिएका थिए। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ३७ लाख नाघेको छ।
पछिल्लो केही दिनयता दैनिक मृतकको संख्यामा समेत रेकर्ड बन्न थालेको भारतमा पछिल्लो २४ घण्टामा ४१ सय २६ को मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या दुई लाख ५८ हजार नाघेको छ।
संक्रमितमध्ये एक करोड ९७ लाखभन्दा बढी निको भइसकेका छन् ३७ लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।
विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड ३५ लाखभन्दा बढी संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ करिब ३४ हजार संक्रमित थपिएका छन् भने ८१६ जनाको मृत्यु भएको छ।