November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अनियन्त्रित चिनियाँ रकेट हिन्द महासागरमा खस्यो

6.2K

काठमाडाैं- पृथ्वीतिर अनियन्त्रित रूपमा फर्किँदै गरेको एउटा चिनियाँ रकेटका अवशेषहरू हिन्द महासागरमा खसेको  छ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार अप्रिल २९ मा प्रक्षेपण गरिएको १६ फिट चौडाइ र ९८ फिट लम्बाइको रकेट अनियन्त्रित भएको थियो। उक्त रकेट चीनको स्थानीय समयअनुसार आइतबार १०ः२४ मा पृथ्वीमा वायुमण्डलमा पुनः प्रवेश गरेको थियो। 

वायुमण्डलमा पुनः प्रवेश गर्दा रकेटको अधिकांश भाग जलेको थियो र बाँकी रहेको भाग ७२.४७° पूर्व र २.६५° उत्तर अक्षांश र देशान्तर भएको स्थानमा खसेको हो।  उक्त स्थान माल्दिभ्सको पश्चिमी क्षेत्र पर्छ।

Advertisement

उक्त रकेट अन्तरिक्षमा स्पेस स्टेसन निर्माणको लागि महत्वपूर्ण मोड्युल पृथ्वीको तल्लो कक्षमा पुर्‍याउने उद्देश्यका साथ चीनले अप्रिलको अन्त्यमा प्रक्षेपण गरिएको थियो।

अमेरिकी र युरोपेली ट्र्याकिङ वेबसाइटहरूले अनियन्त्रित रूपमा झरिरहेको लङ मार्च-५बी रकेटको अनुगमन गरिरहेका थिए।

रकेट वायुमण्डलमा फर्किनुअघि त्यसका भागहरू मानिसहरू बसोबास गर्ने क्षेत्रमा खस्लान् भन्ने चिन्ता उत्पन्न भएको थियो। यद्यपि, अहिलेसम्म रकेट खस्दा जमिन वा समुद्री क्षेत्रमा कुनै नकारात्मक असर पुगेको वा नपुगेको भन्नेबारे कुनै समाचार आएको छैन। 

अन्तरिक्षसम्बन्धी विषयका विज्ञहरूले भने पृथ्वीको निकै ठूलो सतह समुद्रले ओगटेको र धेरै भूभागमा बसोबास नरहेका कारण रकेटका टुक्रा कसैलाई लाग्न सक्ने सम्भावना निकै कम रहेको अनुमान गरेका थिए।

सन् १९९० यता १० टनभन्दा बढी वजन भएको कुनै पनि वस्तु पृथ्वीतर्फ खस्न दिइएको छैन। यता,अमेरिकी रक्षामन्त्री लोयड औस्टिनले चीनले रकेट प्रक्षेपणको क्रममा लापरबाही गरेको आरोप लगाएका छन्।