November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

युरोपतर्फ हिँडेका १३० जना आप्रवासी लिबियाली तटीय जलक्षेत्रमा डुबेको आशंका

3K


एजेन्सी
– युरोपतर्फ हिँडेका १०० भन्दा बढी आप्रवासीहरू लिबियाको तटीय जलक्षेत्रमा डुबेको स्वतन्त्र उद्धार समूह तथा राष्ट्रसंघीय आप्रवासन एजेन्सीले बताएका छन्।

आजभोलि मौसम केही न्यानो भएकाले आप्रवासीहरू भूमध्यसागर पार गरेर अवैध रुपमा युरोपतर्फ प्रस्थान गर्ने गर्दछन्।

मानवीय सहायता संस्थाहरूले आप्रवासीको जीवन रक्षा गर्न लिबियाली तटीय रक्षक र युरोपेली अधिकारीहरू अक्षम रहेको आरोप लगाएका छन्। एक जना लिबियाली तट रक्षक अधिकारीले आफूहरूले डुङ्गाको खोजी गरेको तर सीमित स्रोतसाधनका कारण सम्भव नभएको प्रतिक्रिया दिनु भएको छ।​

Advertisement

ओसन भाइकिङ नामको उद्धार जहाज चलाउने एसओएस मेडिटेरिनीले बिहीबार करिब १३० जना सवार डुबेको रबर डुङ्गा लिबियाको राजधानी त्रिपोलीको उत्तरपूर्वी भूमध्यसागरमा देखा परेको जनाएको छ।

उद्धारकर्ताहरूले दुर्घटना भएको ठाउँमा १० जनाको शव बाहेक अरू कसैलाई पनि भेट्टाउन सकेका थिएनन्। 

समुद्रमा जोखिमपूर्ण यात्रा गर्ने आप्रवासीलाई जोगाउन युरोपेली युनियनका मुलुकहरू र लिबियामध्ये को बढी जिम्मेवार हुनुपर्ला भन्ने यस घटनाले प्रश्न उब्जाएको छ।​

एसएसओएसका अनुसार यसै वर्ष ३५० जना भूमध्यसागरमा डुबिसकेका छन्। उक्त संस्थाले समुद्रमा खोज तथा उद्धार अभियान सञ्चालन गर्न सरकारहरू असफल रहेको आरोप लगाएको छ।

सन् २०११ देखि नेटो समर्थित आन्दोलनबाट लिबियाली नेता मोउमर गद्दाफीको मृत्यु भएपछि लिबियाको जलक्षेत्रबाट ठूलो संख्यामा द्वन्द्वग्रस्त अफ्रिकी र मध्यपूर्वका मुलुकका आप्रवासीहरू युरोप प्रवेश गर्न थालेका छन्।

मानव तस्करहरूले कमजोर डुङ्गामा चढाएर आप्रवासीलाई भूमध्यसागर पार गराउने जिम्मा लिने गरेका छन्। त्यसक्रममा डुङ्गाहरू बीचमै डुब्ने गरेपछि बर्सेनि सयौंको मृत्यु हुने गरेको छ।

अन्तर्राष्ट्रिय अप्रवासन संगठनले पनि यसै वर्ष सन् २०२१ को शुरुदेखि हालसम्म ३०० भन्दा बढी व्यक्ति भूमध्यसागरमा डुबेको जनाएको छ। 

हालैका वर्षहरूमा युरोपेली युनियनले लिबियाको तटीय रक्षक र अन्य स्थानीय समूहहरूलाई भूमध्यसागरको कठिन मार्गबाट युरोपतर्फ प्रस्थान गर्न नदिन मद्दत गरिरहेको छ।