काठमाडाैं- इंग्लिस क्लब आर्सनलले युरोपा लिगको सेमिफाइनलमा स्पेनिस क्लब भिल्लारियलसँग भेट पक्का गरेकाे छ। सिनोवो स्टेडियम प्राहामा बिहीबार राति भएको खेलकाे दोस्रो लेगमा स्लाभिया प्रागलाई उसकै मैदानमा ४-० ले हराउँदै आर्सनलले भिल्लारियलसँग भेट पक्का गरेकाे हाे।
आर्सनलले घरेलु मैदानमा भएकाे पहिलाे लेग १-१ गोलको बराबरीमा सकाएकाे थियाे। दोस्रो लेगमा आर्सनलका लागि एलेसान्द्रे लाकाजेटले दुई गाेल गरे। यता, निकलस पेपे र बुकायो साकाले समान एक एक गोल गरे।
खेलको १४औं मिनेटमा आर्सनलका इमिल स्मिथ रोवीले गोल गरेका थिए। तर, रेफ्रीले उक्त गाेललाई अफसाइड ठहरा। १८औं मिनेटमा उनकै पासबाट पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। २१औं मिनेटमा आर्सनलले अग्रता दाेब्बर बनायाे। उसका लागि लाकाजेटले पेनाल्टीमार्फत् गोल पारे। २४औं मिनेटमा बुकायो साकाले गोल गरेसँगै आर्सनल सहज जिततर्फ उन्मुख भयाे। ७७औं मिनेटमा लाकाजेटले व्यक्तिगत दोस्रो गाेल गर्दा आर्सनलले ४–० को सानदार जित दर्ता गर्याे।
यस्तै, बिहिबार नै भएकाे अर्काे खेलमा भिल्लारियलले क्रोएसियन क्लब डिनामो जाग्रिवलाई २-१ ले तथा समग्रमा ३-१ ले पराजित गर्दै अर्सनलसँगकाे भेट पक्का बनायाे। भिल्लारियलको जितमा पाको एल्कासेर र जेरार्ड मोरेनोले गोल गरे।