काठमाडौं- सन् २०२१ को वसन्त ऋतुमा हिमाल आरोहणका लागि अप्रिल ५ अर्थात् चैत २३ गतेसम्म २९६ जनाले परमिट लिएका छन्।
हिमाल आरोहणका लागि ३६ टिमले आरोहण अनुमति लिएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन्।
हिमाल आरोहणका लागि अनुमति लिनेमा ७३ जना महिला र २२३ जना पुरुष रहेका छन्। आरोहण अनुमति लिनेमध्ये विश्वको सर्वोच्च शिखर सगरमाथा आरोणका लागि सबैभन्दा बढी रहेका छन्। सगरमाथा आरोहणका लागि १६० जनाले अनुमति लिएका हुन्।
पर्यटन विभागले आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउन भन्दै ११ वटा सर्तसमेत जारी गरिसकेको छ। विभागले एजेन्सीका तर्फबाट पर्वतारोहणसम्बन्धी कार्य गर्नका लागि आधिकारिक व्यक्ति तोकेर पठाउनुपर्ने सर्त अगाडि सारेको छ।
यसबाहेक पर्वतारोही दलले पर्वतारोहणबाहेक अन्य थप गतिविधि गर्ने भएमा अनिवार्य जानकारी गराई स्वीकृत लिएर मात्र त्यस्तो गतिविधि गर्न विभागले भनेको छ।