काठमाडौं- यो साता कारोबारको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि भएकाे छ।
सोमबार नेप्से परिसूचक १.१३ अंकले बढेर २६५८.७४ बिन्दुमा कायम भएको छ। नेप्से परिसूचक आज हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। यो नेप्सेको किर्तिमानी यात्रामा आइतबारकै निरन्तरता हो।
आज २१२ वटा कम्पनीको १ करोड ५८ लाख ५३ हजार कित्ता सेयर ७३ हजार ५९८ पटक खरिद–बिक्री हुँदा ७ अर्ब २९ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सबैभन्दा धेरै व्यापार समूहको उपसूचक १३२.६५ अंकले बढेको छ। त्यस्तै होटल तथा पर्यटन समूह ११४.८, जलविद्युत समूह ४६.४९, उत्पादन समूह २४.८, अन्य समूह ३२.०२ र लघुवित्त समूह ३४.६३ अंकले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने निर्जीवन बिमा समूह देखिएको छ। उक्त समूहको उपसूचक १०६.६१ अंकले घटेको छ। त्यस्तै बैंकिङ ११.७९, विकास बैंक १३.४३, वित्त ०.९५, र जीवन बिमा ३८.९६ अंकले घटेको छ।
कारोबार रकममा आधारमा आज अपर तामाकोसी हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै ३४ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सबैभन्दा धेरै ५ लाख कित्ता सेयर खरिद बिक्री भएको छ।