November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

यातायात कार्यालय बागलुङद्वारा आठ महिनामा १० करोड राजश्व संकलन

3K

बागलुङ- यातायात व्यवस्था कार्यालय बागलुङले चालु आर्थिक वर्षको सुरुवातको आठ महिनामा करीब रू १० करोड राजश्व संकलन गरेको छ। धौलागिरिका चार जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा प्रवाह गर्दै आएको कार्यालयले ब्लुबुक नवीकरण, सवारी अनुमतिपत्र (लाइसेन्स)लगायतका शीर्षकबाट नौ करोड ७९ लाख ६४ हजार २८८ रूपैयाँ राजश्व संकलन गरेको छ।

सवारी करबाट सात करोड, तीन लाख ५६ हजार ९९९, बिलबुक तथा सवारी अनुमति पत्रबाट एक करोड ४८ लाख, १६ हजार ६५५ रूपैयाँ संकलन भएको यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी सुरेश श्रेष्ठले बताए। 

श्रेष्ठका अनुसार पञ्जीकरणबाट रू दुई लाख ५० हजार ५००, बेरुजुबापतको रू १९ हजार चार २८, पटके रुट परमिटमार्फत् रू ४१ लाख ८९ हजार २००  राजश्व संकलन भएको छ। 

Advertisement

सडक पुनःनिर्माण गर्न ६० करोड विनियोजन          
जिल्लाको ढोरपाटन नगरपालिकामा २०७७ भदौ १७ गते राति आएको बाढीले क्षति गरेको राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक पुनःनिर्माणका लागि रु ६० करोड बजेट स्वीकृत भएको छ।

नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटनको देउराली नजिकै सुर्तिवाङमा खसेको पहिरोले खोला थुनिएर अचानक फुटेपछि नगरपालिकाका ५, ६, ७, ८ र ९ वडाका तटीय बस्तीमा क्षति पुर्‍याउनुका साथै करिब १० किलोमिटर सडक बगाएको थियो। बाढीमा परेर २३ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन्।

बाढीले सबैभन्दा बढी ढोरपाटन–९ मा ठूलो जनधनको क्षति गरेको थियो। बाढीले भुजीखोलाको किनाराबाट गएको सालझण्डी–ढोरपाटन सडक बगरमा परिणत गराएको थियो। सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाले ढोरपाटन नगरपालिकाको समन्वयमा झण्डै रू पाँच करोड खर्चेर सडक एक महिनापछि सञ्चालन गरेको थियो।