काठमाडाैं- म्यानमारमा सैन्य ‘कू’ विरुद्धकाे प्रदर्शनमा उत्रिएका थप ९ जनाकाे मृत्यु भएकाे छ। बिहीबार सेनाले यङ्गुन, खिन-यु टाउन, मोहनिन टाउन, तानगुन्गी शहरमा चलाएकाे गाेली लागेर उनीहरुकाे मृत्यु भएकाे हाे।
द एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार मान्डले सहरमा बिहीबार गाेली लागेर थप एक १६ वर्षे बालकको मृत्यु भएकाे छ। यसका साथ केही व्यक्ति घाइते भए।
मंगलबार मात्रै मान्डले सहरमा बुबाकाे काखमा खेलिरहेकी ७ वर्षीय बालिकाकाे गाेली हानेर सेनाले हत्या गरेकाे थियाे। उनी जारी आन्दाेलमा ज्यान गुमाउनेमध्ये कान्छी सहिद हुन्। याेसँगै प्रदशर्नमा ज्यान गुमाउने नाबालकहरुकाे संख्या २० पुगेकाे छ।
याेसँगै म्यानमारमा सैन्य ‘कू’विरुद्ध जारी प्रदर्शनमा मृत्यु हुनेकाे संख्या ३ सय २० पुगेकाे छ। बुधबार मात्रै २३ प्रदर्शनकारीकाे मृत्यु भएकाे एएपीपीले जनाएकाे छ।
‘हिजो विभिन्न सहरहरूमा रातिसम्म विरोध प्रदर्शन गरिएको थियो, जसमध्ये केही स्थानमा हिंस्रक रुप लियो। प्रदशर्नकारीहरुलाई गोली हानियो। केही घाइते भए र केही पक्राउ परे। मान्डलेमा एक युवक मारिए,’ एएपीपी भनेको छ।
यस्तै जारी प्रदर्शनमा पक्राउ पर्नेकाे संख्या पनि बढ्दाे छ। हालसम्म २९ सय ८१ जना पक्राउ गरिएकाे एएपीपीले जनाएकाे छ। यता सेनाले २४ प्रदर्शनकारीलाई अपराधी ठहर गरेकाे छ। यस्तै १०९ प्रदर्शनकारीलाई फरार अपधाराधीकाे सूचीमा राखेकाे एएपीपीले जनाएकाे छ।
यस्तै बिहीबार सेनाले अघिल्लाे महिना पक्राउ गरेका ६०८ प्रदर्शनकारीलाई रिहा गरेकाे छ। उनीहरुलाई सैन्य कानून उल्लघंन गरेकाे आराेपमा बिभिन्न स्थानबाट पक्राउ गरिएकाे थियाे।