November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अमेरिकामा कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो

4.1K

न्युयोर्क- अमेरिकामा कोभिड-१९ का संक्रमितहरुको संख्या तीन करोड नाघेको बताइएको छ। जोन हप्किन्स विश्वविद्यालयले बुधबार दिएको जानकारीअनुसार अहिले अमेरिकामा समग्र संक्रमितको संख्या तीन करोड एक हजार २४५ जना पुगेको हो।

अमेरिकामा पछिल्लो एक सातामै कोरोना भाइरसका संक्रमित निकै बढेका बताइएको छ। अमेरिकी समाचार संस्था सीएनएनकाअनुसार पछिल्लो एक सातामा अमेरिकामा कोरोना भाइरसका संक्रमित निकै तीब्र गतिमा बढेका हुन्। गत सोमबारसम्म अमेरिकामा पाँच लाखभन्दा बढी मानिसको कोभिड–१९ का कारण ज्यान गएको थियो।

मृतकको संख्या पनि पछिल्ला केही समयमा तीब्र गतिमा बढेको बताइएको छ। अहिले अमेरिकमा मृतकको संख्या पाँच लाख ४५ हजार ५३ जना पुगेको बताइएको छ। अमेरिकामा पछिल्लो समयमा कोभिडको नयाँ प्रजातिको भाइरसको पनि प्रकोप देखिएको बताइएको छ। अमेरिकी राज्यहरुमध्ये सबैभन्दा धेरै प्रभाव क्यालिफोर्निया राज्यमा परेको छ।

Advertisement

उक्त राज्यमा ३६ लाख ४७ हजारभन्दा बढी व्यक्ति यो महामारीबाट संक्रमित भएका बताइएको छ। त्यसपछि टेक्सासमा २७ लाख र फ्लोरिडामा २० लाखभन्दा बढी मानिस संक्रमित भएका छन्। त्यसैगरी, न्युयोर्कमा भने १८ लाखभन्दा बढी मानिस संक्रमणको चपेटामा परेका छन्।