काठमाडौं- महोत्तरीको बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया बालिकाको हत्यामा संलग्न भएको आरोप लागेका युवक पक्राउ परेसँगै घटनाका नयाँनयाँ पाटा खुल्न थालेका छन्।
बर्दिबास सुगम बस्तीकी सादिम आलमकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको हत्यामा संलग्न भएको आरोप लागेका महोत्तरीको गौशाला नगरपालिका-५ जिरो माइलका २६ वर्षीय युवक अरुणकुमार साह अहिले प्रहरी नियन्त्रणमा छन्। प्रहरीले उनीसँग हत्याका विभिन्न पाटाहरूबारे अनुसन्धान गरिरहेको छ। यसक्रममा केही नयाँ तथ्यहरु खुल्दै गएको महोत्तरीका एसपी प्रकाश विष्टले नेपाल बताए।
आफ्नै घरमा खेलिरहेका बेलामा आइतबार साँझ बालिका हराएको भन्दै इलाका प्रहरी कार्यालय बर्दिबासमा सूचना आएको थियो। उक्त सूचना आएपछि खोजतलासमा जुटेको प्रहरीले बालिकाको अवस्था पत्ता लगाउन सकेको थिएन। बालिकाको खोजीमा निस्किएको प्रहरीले सोमबार राती भने बालिकाको घर नजिक सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालय नजिकको एक झाडीमा बालिकाको शव फेला परेको थियो। बोराभित्र प्याक गरेको अवस्थामा भेटिएको उक्त शवमा खासै घाउचोट देखिएको थिएन। बालिकाको घाँटी थिचेर हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान थियो।
बालिकाको शव भेटिएको समयसँग लामो अन्तर नगरी २६ वर्षीय अरुणकुरमार साहलाई उनकै बाबुले इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीमा बालिकाको हत्या गरेको भन्दै ल्याए। यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। त्यसपछि भने हत्या कसरी भयो भन्ने पाटो खुल्न थालेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी राजन चापागाईंले बताए।
पक्राउ परेका युवक साहको बयानअनुसार आइतबार घरमै खेलिरहेकी भनिएकी ती बालिका चक्लेट किन्न भन्दै साहले सञ्चालन गरेको पसलमा पुगेकी थिइन्। ती बालिका चक्लेट किन्न आएका बेला पसले साह भने रक्सीको नसामा लट्ठ थिए। साहले प्रहरीसँगको बयानमा भनेका छन्, ‘चक्लेट किन्न आएकी ती बालिकालाई पसलको पछाडिको कोठामा लगेँ। र तौलियाले घाँटी थिचेको थिएँ। सोही क्रममा उनको मृत्यु भयो।’
बालिकाको मृत्यु भएपछि साहले एक दिनभर र एक रात बालिकाको शव आफू सुत्ने कोठामै राखेको पाइएको छ। शव व्यवस्थापन गर्ने उचित मौकाको पर्खाईमा रहेका साहले आइतबार रातभर र सोमबार दिनभर बालिकाको शव आफू सुत्ने कोठामा राखेको प्रहरी बयानमा बताएका छन्। प्रहरीले आइतबार राती र सोमबार दिनभर खोज्दा पनि बालिकाको अवस्था पत्ता लगाउन सकेको थिए। सोमबार साँझ भने प्लास्टिकको बोरामा बालिकाको शव प्याक गरेर आफ्नो घरभन्दा अन्दाजी ४० मिटर जति टाढा झाडीमा फालेका थिए। बालिका खोजतलासमा रहेको प्रहरीले उक्त झाडीबाटै बालिकाको शव फेला पारेको थियो।
हत्यारालाई बाबुले नै बुझाएका थिए प्रहरीमा
बालिकाको हत्या गरेर झाडीमा शव फ्याँकेपछि युवक साह गौशाला नगरपालिका-५ स्थित आफ्नो घर गएका थिए। आफूले गरेको अपराध युवक साहले लामो समयसम्म लुकाउन सकेनन्। साहले पश्चाताप मान्दै बालिका हत्याको कहानी परिवारलाई सुनाएका थिए।