काठमाडौं- चीन सरकारले आफ्नो देश आउने विदेशी नागरिकलाई चीनमा बनेको कोरोना भाइरसविरुद्धको खोप अनिवार्य लगाउनुपर्ने शर्त राखेको छ। अमेरिका, भारत र पाकिस्तान लगायतका धेरै मुलुकका चिनियाँ दूतावासहरूले सूचना जारी गर्दै चीनमा उत्पादन गरिएको खोप लगाएकालाई मात्रै प्रवेशमा अनुमती दिने बताएको हो।
चिनियाँ दूतवासले भनेको छ, ‘चिनियाँ दूतावास तथा वाणिज्य दूतावासमा मानिसहरु भिसा प्रक्रियामा सहभागी हुन सक्नेछन्। तर, उहाँहरुले चीनमा बनेको कोभिड– १९ भ्याक्सिन लगाएको हुनुपर्छ र भ्याक्सिन लगाएको सर्टिफिकेट हुनुपर्छ।’
कोरोना संक्रमण फैलिन नदिन धेरै विदेशीहरूलाई गत मार्च महिनादेखि चीन प्रवेश गर्न दिइएको छैन। यसले चीनमा जागिर खानेहरू र परिवार हुनेहरू बाहिरै अड्किएका छन्।
चिनियाँ दूतावासले चीन जाने नागरिक तथा उनको परिवारले वैध कागजातका साथ भिसाका लागि आवदेन गर्नुपर्ने जनाएको छ। अब विदेशीले चीन जान चाहेमा यात्रा अघि इलेक्ट्रोनिक हेल्थ डिक्लेरेसन बनाउनुपर्ने हुन्छ। यसपछि चीन पुगेपछि सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने छ।
चीनमा कोरोनाविरुद्ध चारवटा खोप बनेका छन् र उसले कुनै पनि विदेशी खोपलाई स्वीकृति दिएको छैन। चिनियाँ नागरिकलाई त्यहीँ उत्पादन गरिएकाे खोप दिन लागिएको छ।