काठमाडौँ – युरोपका तीन ठूला मुलुक जर्मनी, फ्रान्स र इटालीले अष्ट्राजेनेका कम्पनीले विकास गरेको कोरोनाभाइरसविरूद्धको खोप लगाउन अस्थायी रुपमा रोक लगाएका छन् ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेका कम्पनीले विकास गरेको खोप भारतमा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको छ । नेपालमा पनि सेरमले उत्पादन गरिरहेको कोभिसिल्ड नामक भ्याक्सिन लगाउने क्रम जारी छ । तर,युरोपमा देशमा देखिएको समस्या भने नेपालमा अहिलेसम्म देखिएको छैन ।
इटालीको उत्तरी पिडमोंट क्षेत्रमा एक ५७ वर्षीय शिक्षकको भ्याक्सिन लगाएको एक दिनपछि उनको निधन भएको थियो । त्यसपछि इटालीले पनि यसमा रोक लगाएको हो ।
खोप लगाएकाहरुको रक्तनलीमा रगत जम्ने समस्या देखिएपछि खोप लगाउन तत्काललाई बन्द गरिएको बताइएको छ । यसअघि पनि युरोपका केही मुलुकहरुले केही समय खोप लगाउन रोकेका थिए ।अष्ट्राजेनेको खोप लगाएपछि रक्तनलीमा रगत जम्ने समस्या देखिएपछि यो भन्दा पहिलो आयरल्याण्ड,बुल्गारिया,डेनमार्क,नर्वे र आइसलैंडले यसमा रोक लगाएको थियो ।
अष्ट्राजेनेका अधिकारीहरुले भने यो खोप पुर्ण रुपमा सुरक्षित भएको दावी गरेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अक्सफोर्ड–अष्ट्राजेनेकाले बनाएको भ्याक्सिनको सुरक्षाबारे मंगलबार विज्ञहरूसंग छलफल गर्न लागेको जनाएको छ । डब्लुएचओले कोरोनाविरूद्धको खोप अभियानलाई नरोक्न समेत आग्रह गरेको छ ।