November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

को हुन् ‘गोइत’ समूह ?

3.6K

सप्तरी: ‘गोइत’ समूहले लामो समयदेखि मधेसमा हिंसात्मक गतिविधि गर्दै आएका थिए । पछिल्लो समय उनको समूहका गतिविधि शुन्यप्राय पारेका थिए । तर, आज लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोट घटनास्थलमा प्रहरीले भेटाएको पर्चा जयकृष्ण गोइत नेतृत्वको भुमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाको रहेको खुलेको छ । पर्चा धुजाधुजा भएकाले पर्चामा के लेखिएको छ भन्ने कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

आज लहानमा भएको घट्नामा भूमिगत समूह गोहितले किन आक्रमण गर्यो ? भन्ने खुलेको खुल्न बाँकी नै छ । यद्यपी आइतबार बिहानमात्र गोइत समूहका ‘सेकेन्ड म्यान’ भनिएका नेता रामविलाश यादवले भने आत्मसमर्पण गरेका थिए ।

यादवले साढे १० बजे जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति बुझाउँदै आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ । यादवको आत्मसमर्पणलाई लिएर नै समूहका असन्तुष्ट पक्षले बिस्फोट गराएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

Advertisement

प्रदेश २ मा आतंक
प्रदेश नम्बर २ मा भएको अधिकांश घट्नाको जिम्मा यो समूहले नै लिँदै आएको छ । विशेषगरी बिस्फोटक पदार्थसँग जोडिएका धेरैजसो घटनाको जिम्मा गोइत समूहले नै लिएको छ । यो समूहले जिम्मा लिएको ‘बम आतंक’को कारण प्रहरी हैरान हुने गरेको छ । प्रहरीले जनाएअनुसार उद्योगी व्यवसायीसँग चन्दा माग्ने यो समूहको श्रृङ्खला अझै कायम रहेको छ ।

तत्कालीन माओवादीले युद्धकालमा गोइतलाई हटाएर मात्रिका यादवलाई मधेस राष्ट्रिय मुक्ति मोर्चाको संयोजक बनाएको थियो । त्यसपछि गोइतले आफ्नै नेतृत्वमा सशस्त्र समूह गठन गरेका हुन् । त्यसयता मधेसमा विभिन्न धावा बोल्दै आएका गोइतले अझै पनि मधेसमा आतंक सिर्जना गरिरहेको छ ।

गोइत समूहले यस अघि २०७५ साउन २७ मा विराटनगर महानगरपालिकामा बम बिस्फोट गराएका थिए । उक्ता घट्नाको २१ दिनपछि प्रहरीले तीनजनालाई पक्राउ गरेको थियो ।

त्यस्तै, २०७४ मंसिर २८ मा सिरहाको लहानको लोकतन्त्र चोक छेउमा बम विस्फोट गराएका थिए । साइकलको सिटमुनी फिट गरेको सकेट बम बिस्फोट हुँदा सप्तरीको खडक नगरपालिका–२ बनरझुल्ला बस्ने ४६ वर्षीय परमेश्वर चौधरी र सोही नगरपालिका–४ पनसेरा बस्ने ४४ वर्षीय धनराज चौधरी घाइते भएका थिए ।

त्यस्तै यो समूहले नै २०७३ मंसिर २३ मा सिरहाको मिर्चैयामा प्रेसर कुकर बम बिस्फोट गराएका थिए । घटनाको जिम्मा लिने गोइत समूह नै रहेको छ । २०७३ मंसिर १२ मा जिल्ला प्रशासन कार्यालय सप्तरीमा प्रेसर कुकर बम फेला परेको थियो सो घटनाको जिम्मा गोइत समूहले नै लिएका थिए । त्यस्तै सप्तरीको झुट्की प्रहरी चौकीको असईको हत्या भएको थियो । राजविराजस्थित सांसद सुरेन्द्र यादवको घरमा राखिएको सिलिन्डर बम बिस्फोटको घटनाको जिम्मा पनि यो समूहले नै लिएको प्रहरीको भनाइ छ ।

पक्राउ गर्न प्रहरी असफल
प्रहरीकाअनुसार गोइत लामो समयदेखि भारतमा बस्दै आएका छन् । उनलाई पक्राउ गर्न प्रहरीको विशेष ब्युरोले उनलाई पक्राउ गर्ने प्रयास गरेपनि प्रहरी सफल हुन सकेको छैन ।

लहानस्थित मालपोत कार्यालयमा आज भएको विस्फोटपछि प्रहरीले प्रहरीले पर्चा भेटेको आधारमा अनुसन्धानका लागि विभिन्न स्थानमा सर्च अपरेसन गरिरहेको प्रहरीले जनाएको छ । तर, प्रहरीले यो समूहलाई पक्राउ गर्न नसक्दा प्रदेश नम्बर २ ‘बम आतंक’को कारण जनमानसमा त्रास पैदा भएको छ ।