जापान – टोकियो, चिबा, खानागावा र साईतामा केनमा हाल कायम आपतकालिन् अवस्था तोकिएको समय ( २१ मार्च) मै हटाईने भएको छ । यस अघि मार्च ७ तारिखसम्मका लागि कायम गरिएको आपतकाल कोरोना भाईरस संक्रमण नरोकिएपछि २ साता थप गरि यहि मार्च २१ तारिखसम्म कायम गरिएको छ ।
आपतकालिन् अवस्था थप गरिएता पनि दैनिक कोरोना संक्रमित तथा अस्पत्तालमा भर्ना भई उपचाररत बिरामीहरुको संख्यामा खासै सुधार नआएको अवस्थामा आगामी २१ तारिख पनि आपतकाल हट्ने हो या होईन भन्ने आम दुविधामा रहेको बेला सरकार मार्च २१ पछि फेरि आपतकालिन् अवस्था थप नगर्ने मनस्थितिमा पुगेको जापानी संचार माध्यमहरुले खबर प्रकाशन गरेका छन् ।
शनिबार राती सानकेई पत्रिकाको अनलाईन संस्करणमा प्रकाशित समाचारका अनुसार,मन्त्रिपरिषद सचिवालयले यहि ११ मार्चमा आपतकालिन् अवस्था थप गर्नुअघि र त्यसपछिको अवस्थाबारे गरेको तुलनात्मक समिक्षाका अनुसार हाल आपतकाल कायम स्थानहरुमा पहिलेको तुलनामा अवस्था सुधार हुँदै आएको छ । टोकियो,चिबा,साईतामा र खानागावा केनका हस्पिटलहरुमा बिरामीको चाप झिनोमात्रामा भएपनि घट्दै गएको छ । आपतकाल थप्नुअघि टोकियोका हस्पिटलका बेडहरु ३० प्रतिशत भरिएका थिए भने अहिले २६ प्रतिशतमा झरेका छन् । त्यस्तै साईतामा केनका हस्पिटलहरुमा ४१ प्रतिशतबाट ४० प्रतिशतमा झरेको छ ।चिबा केनमा ४६ प्रतिशतसम्म भरिएका हस्पिटलका बेडहरु अहिले ४२ प्रतिशतमा झरेका छन् । खानागावा केनमा पहिले २८ प्रतिशत बेडहरु भरिएकामा अहिले २६ प्रतिशतमा झरेका छन् । यसरी सरसरी हेर्दा तुलनात्मकरुपमा हस्पिटलहरुको चाप घट्दै आएको छ । आपतकालिन् अवस्था हटाउनका लागि अस्पत्तालहरुको चाप कम्तिमा ५० प्रतिशत भन्दा कम हुनुपर्ने मापदण्ड बनाईएकाले अहिलेको अवस्था हेर्दा सबै क्षेत्रमा मापदण्ड पुगेको देखिन्छ ।
यसका अलवा दैनिक संक्रमितहरुको संख्या पनि बिस्तारै घट्दै गएको छ ।यि सबै आधारहरुको विश्लेषण पश्चात सरकारले आगमी २१ तारिखबाट आपतकाल हटाउने तयारी गरेको बुझिएको छ । समाचारहरुमा जनाईए अनुसार यहि १८ तारिख कोरोना नियन्त्रण मुख्यालयका विज्ञहरुसंगको बैठक पछि यसबारे औपचारिक निर्णय सार्वजनिक गरिने छ ।