काठमाडौं–चितवनमा मुटु अस्पताल सञ्चालनमा आएको छ। मुटुसँग सम्बन्धित सबै खालका उपचार गर्ने गरी चितवन अस्पताल सञ्चालनमा ल्याइएको हो। भरतपुर महानगरपालिका–१० दूरसञ्चार रोडमा मुटुरोग विशेषज्ञसहितको समूहले अस्पताल सञ्चालनमा ल्याएको हो।
अस्पतालका अध्यक्ष मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारीका अनुसार अस्पतालमा चौबीसै घण्टा मुटुको भिडियो एक्सरे, इको कार्डियोग्राफी, होल्टर मनिटर, एबीपिएम, इसिजी सेवा उपलब्ध छ।
यसैगरी मुटुको मांसपेशीमा पर्ने असरको इकोबाट अध्ययन गरिने स्टे«न इमेजिङ इको, डोबुस्टे«स इको, टिएमटीलगायत सेवासमेत अस्पतालले दिँदै आएको छ। अस्पतालमा मुटुसँग सम्बन्धित रहेर रेडियोलोजी तथा इमेजिङ सेवा र शल्यक्रियासमेत हुने डा शङ्कर लौडारीले बताए। अस्पतालमा सिसीयू र आइसीयू सेवासमेत सञ्चालनमा ल्याइएको छ।
अस्पतालले छिट्टै क्याथल्याब सञ्चालनमा ल्याउने बताउँदै डा लौडारीले ओपनहर्ट सर्जरीको योजनासमेत रहेको जानकारी दिए। वाग्मती प्रदेशमा गङ्गालाल हृदयरोग केन्द्रपछिको मुटुरोग अस्पतालका रूपमा यसलाई विकास गरिने उनले बताए।
अस्पताल सञ्चालनसँगै यस क्षेत्रका बिरामी राजधानी र विदेश जान नपर्ने गरी अत्याधुनिक सुविधासम्पन्न बनाउँदै लगिने बताइएको छ। २५ शय्याको अस्पतालमा आठ चिकित्सकसहित ४५ जना कार्यरत छन्।