November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रदेश नं २: दलित विकास समितिका पदाधिकारीलाई नियुक्तिपत्र प्रदान

२०७७ फाल्गुन १९

3.3K

जनकपुर । प्रदेश नं २ सरकारले गठन गरेको दलित विकास समितिका पदाधिकारी र सदस्यलाई आज नियुक्तिपत्र प्रदान गरेको छ । केही दिनअघि सरकारले गठन गरेको दलित विकास समितिका पदाधिकारीलाई आज समाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले नियुक्तिपत्र हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा मुख्यमन्त्री राउतले दलितको पहिचान र अधिकार संरक्षित गर्न समितिले प्रभावकारी काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रदेशमा रहेका १८ प्रतिशत दलित समुदायको पहिचान र अधिकार संरक्षित गर्नका लागि सरकारले दलित सशक्तीकरण ऐन ल्याएको बताउनुभयो । एक्कासौँ शताब्दीमा पनि छुवाछूत जस्ता अमानवीय व्यवहार झेलिरहेका दलित समुदाय अझै राज्यको मूल प्रवाहीकरणमा सहभागी हुन नसकेको बताउँदै मुख्यमन्त्री राउतले दलित विकास समितिलाई हरसम्भव सहयोग गर्ने र समितिको कार्य तत्कालै अगाडि बढाउन निर्देशनसमेत दिनुभयो ।

उहाँले समितिमा प्रतिनिधित्व हुन नसकेका दलित समुदायको पनि सम्मान गरेर अघि बढ्न समितिलाई निर्देशनसमेत दिनुभयो । समितिका अध्यक्षसमेत रहनुभएका समाजिक विकासमन्त्री नवलकिशोर साहको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री राउतले दलित सशक्तीकरणसम्बन्धी ऐनले दलित समुदायको अधिकारलाई सुरक्षित गरेको दाबी गर्नुभयो ।

Advertisement

कार्यक्रममा समितिका उपाध्यक्ष रामप्रवेश बैठा, सदस्य सेवकी देवी दास, श्यामसुन्दर सरदार, राजकुमार दास तत्मा र सुनिता मरिकलाई नियुक्तिपत्र हस्तान्तरण गरिएको थियो । सो अवसरमा समाजिक विकासमन्त्री साहले नवनियुक्त पदाधिकारी र सदस्यलाई शुभकामना दिँदै सरकारले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।