November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रदेश १ को सभा अवरुद्ध गर्ने तयारीमा ओली पक्ष

3.3K

काठमाडौं- प्रदेश १ को प्रदेश सभा चल्न नदिने तयारी सत्ता पक्षीय नेकपाले गरेको छ। जारी हिउँदे अधिवेशनको कार्यसूचीमा मुख्य मन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव भएपछि सभा चल्न नदिने  ओली पक्षको तयारी छ।

दिउँसो २ बजेका लागि बैठक आव्हान गरिएको प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले बताए। उनले कार्यसूचीमा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावको विषय रहेको छ। 

प्रदेश सभा सचिवालयमा नेकपाको प्रचण्ड–माधव पक्षले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। जुन प्रस्ताव प्रदेश सभामा बैठकमा टेबुल हुन पाएको छैन। यसअघि माघ २५ गतेको बैठक पनि ओली पक्षका सांसदहरुको अवरोधका कारण स्थगित भएको थियो। 

Advertisement

आज पनि अविश्वास प्रस्ताव टेबल हुन नदिने तयारी आफूहरुले गरेको नेकपा ओली समूहमा रहेका प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए। उनले भने, ‘सभामुखले बैठक प्रारम्भ गर्नेबित्तिकै हामी आफ्नो कुरा राख्न समय माग्छौं। नेकपाको संसदीय दलका नेता शेरधन राई बाहेक अरु कोही हुनुहुन्छ कि हुनुहुन्न? हुनुहुन्छ भने जानकारी गराउनुहोस् भन्छौं। उहाँले जवाफ दिनसक्नुहुन्न। हामी अवरोध गर्छाैं । बैठक स्थगित हुन्छ।’

राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेलाई आफूले विधानअनुसार स्पष्टिकरण सोधेर कारबाही गरेकाले उनीहरु प्रदेश सभामा भाग लिन नपाउने उनको दाबी छ। उनले भने, ‘१६ जनालाई हामीले कारबाही गरेका थियौं। तीन महिना संसदीय गतिविधीमा भाग लिन नपाउने गरी कारबाही भएको हो। कारबाही गरिएको माननीयहरु प्रदेश सभामा उपस्थित हुने भएपछि बैठक अघि बढनहुुन्न भन्ने हाम्रो जिकिर आज पनि रहन्छ।’

औपचारिक रुपमा पार्टी विभाजन नभइसकेकाले अहिलेसम्म विधानअनुसार गरिएको कारबाही नै मान्य हुने उनको दाबी छ।