काठमाडौं- गण्डकी प्रदेश सरकार स्थापना भएको ३ वर्षको उपलब्धि सार्वजनिक गरेको छ। प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनाउन मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष कार्यक्रम पनि आयोजना गरेको छ। प्रदेश सरकार स्थापना भएदेखि हालसम्मको उपलब्धि भन्दै ५६ पृष्ठको सफलताको पुस्तिका प्रकाशन गरेको छ।
आर्थिक वर्ष २०७५/०७६ मा ३ खर्ब ८ अर्ब ९१ करोड कुल ग्राहस्थ उत्पादन रहेकोमा आर्थिक वर्ष २०७६/०७७ मा बढेर ३ खर्ब २६ अर्ब ८७ करोड पुगेको पुस्तकमा उल्लेख छ। यस्तै, कोरोना भाइरसको महामारी आउनुअघि ६.६५ प्रतिशत प्रदेशको आर्थिक वृद्धिदर रहेकोमा कोरोना महामारी पश्चात २.२९ प्रतिशत वृद्धिमा खुम्चिएको प्रदेशले स्वीकार गरेको छ।
प्रदेशको आर्थिक वृद्धिदर ऋणात्मक नहुनु प्रदेश सरकारको आर्थिक नीतिको सफलता देखिएको उपलब्धिमा दाबी गरिएको छ। निजी क्षेत्रले प्रदेशमा लगानी बढाएको पनि प्रदेशले आफ्नो उपलब्धि ठानेको छ। पुस्तिकामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विदेश भ्रमणदेखि कूटनीतिक नियोगका प्रतिनिधिसँगको भेटघाटसमेत उपलब्धिमा समेटिएका छन्।
गुरुङ मुख्यमन्त्री भएपछि अमेरिका, बेलायत, हङकङ र चीनको भ्रमण गरेका थिए। उपलब्धिका बुँदामा चीनको हाइनान प्रान्तसँग भगिनी सम्बन्ध स्थापना गरेको उल्लेख छ।
चीनकै युनान प्रान्तका गभर्नरसहितको प्रतिनिधिमण्डलको पोखरा भ्रमण, चीनको स्वशासित क्षेत्र तिब्बतका अध्यक्षको नेतृत्वको प्रतिनिधि मण्डल पोखरा घुम्न आएको पनि प्रदेश सरकारले उपलब्धि मानेको छ।
प्रदेश सरकारको उपलब्धिमा भारत, चीन, जापान, अमेरिका, कोरिया, युरोपियन युनियन, स्वीट्जरल्याण्ड, अष्ट्रेलिया, इजरायललगायत देशका राजदूत तथा कूटनीतिज्ञसँग भेट गरेको उल्लेख छ। उनीहरूले गण्डकी प्रदेशको भ्रमण गरी द्वीपक्षीय हितका विषयमा मुख्यमन्त्रीसँग छलफल गरेको भन्दै प्रदेश सरकारले उपलब्धिमा उल्लेख गरिएको छ।
https://drive.google.com/file/d/1qC6puUDq1rGBn2HZXLEnDZ_5zKsiNfom/view