काठमाडौं: जिल्लामा वर्षेनी गोलभेँडा उत्पादनमा वृद्धि हुँदै आए पनि यसले उचित मूल्य पाउन सकेको छैन । महत्वपूर्ण नगदे तरकारीबालीको रुपमा रहेको गोलभेँडा खेतीप्रति उत्साहित किसान उचित मूल्य नपाउँदा भने निराश देखिएका छन् ।
कुनै समयमा राम्रो मूल्यमा बिक्री हुने गरेका कारण गोलभेँडा खेतीमा हौसिएर सर्लाही जिल्लाका उत्तरी भेगका किसानले गोलभेँडा उत्पादन वृद्धि गर्न थाले पनि अहिले भनेजस्तो उचित मूल्य पाउन नसक्दा गोलभेँडाउत्पादक किसान निराश बन्न थालेका हुन् । विगतका वर्षमा प्रतिक्रेट रु एक हजारदेखि रु एक हजार पाँच सय मूल्यमा बिक्री हुने गरेको गोलभेँडा अहिले रु ४५० देखि ५०० सम्ममा मात्र बिक्री भएपछि यहाँका गोलभेँडा उत्पादक किसान अन्य कृषि बालीतर्फ आकर्षित हुने सम्भावना बढेको छ ।
जिल्लाको लालबन्दी, ईश्वरपुर, हरिवन र वाग्मती नगरपालिकालगायत महोत्तरीको गौशाला, सम्सी, खयरमारलगायत क्षेत्रका किसानले उत्पादन गर्दै आएको गोलभेँडाको यसवर्ष उचित मूल्य पाउन नसकेको किसानहरु बताउँछन् । गोलभेँडाको बजार मूल्य अहिले आधाले घटेर प्रति क्रेट रु ४५० देखि रु ५०० सम्ममा बिक्री भइरहेकाले यसबाट लागतसमेत उठ्न नसक्ने भन्दै सर्लाहीका गोलभेँडा उत्पादक किसान चिन्तामा परेका हुन् ।
उत्पादन बढिरहेकाले गोलभेँडाको मूल्य अझ पनि घट्न सक्ने उनीहरूको गुनासो छ । उत्पादनको शुरुवात र अन्तिम समयमा गोलभेँडा कम निस्कने भएकाले यसले राम्रो मूल्य पाउने तर हरेक वर्ष यो समयमा उत्पादन बढी हुनेभएकाले मूल्य घट्ने गरेको लालबन्दीका किसान भोला रायले बताउनुभयो । “आफूले केही वर्षयता आएर उत्पादन गरेको गोलभेँडाको लागत अनुसारको उचित मूल्य पाउन सकेका छैनौं”, उहाँले भन्नुभयो, “विगतका वर्षमा गोलभेँडाको मूल्य राम्रो भएका कारण आर्थिक आम्दानीको मुख्य स्रोत गोलभेँडाखेतीमा लागियो, हिउँद, बर्खा दुःख ऋणपान गरेर गोलभेँडा उत्पादन गर्न शुरु गर्यौं, तर लागत अनुसारको उचीत मूल्य पाउन नसक्दा आफूहरु निराश हुनु बाहेक अरु केही रहेन ।
अहिलेको मूल्यमा गोलभेँडा बिक्री गर्दा आफूहरुको आर्थिक लगानी र श्रम पनि नउठ्ने तथा गोलभेँडा खेतीमा काम गर्ने मजदूरको ज्यालासमेत तिर्न नपुग्ने गुनासो किसानको छ । उनीहरुले बरु मङ्सिर/पुससम्म रु एक हजारदेखि एक हजार ५०० प्रतिक्रेट मूल्य रहेको थियो, अहिले त झनै गोलभेँडा व्यापारीले रु ४५० देखि ५०० प्रतिक्रेट मूल्य झारे, अब गोलभेँडा बिक्री गर्नुभन्दा बाटोमा फाल्नुबाहेक आफूहरुसँग अरु विकल्प छैन भन्नुभयो ।