दोहा । संविधान निर्माण भई कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको अवसर पारी नेपाली राजदूतावास कतारले एक कार्यक्रमबीच संविधान दिवस मनाएको छ । कतारमा रहेका संघसंस्था प्रतिनिधि एवं कतारवासी नेपालीहरूको सहभागीतामा हरेक वर्ष झैं यसपटक पनि दूतावासकै सभाहलमा औपचारिक कार्यक्रम आयोजना गरी उक्त दिवस मनाएको हो ।
कतारका लागि नेपाली राजदूत महामहिम डा. नरेशविक्रम ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्ट र नेपाल व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाईले शुभकामना मन्तव्य राखेका थिए ।
महामहिम डा. ढकालले नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेका थिए । नेपालको राष्ट्रिय गान पछि एक मिनेट मौनधारण गरी शहीदहरु प्रति सम्मान व्यक्त गरिएको कार्यक्रममा संविधानलाई लक्षित गरी नेपाल पर्यटन बोर्डबाट तयार गरिएको विशेष भिडियो पनि देखाइएको थियो ।
महामहिम डा. ढकालले कतारमा रहेका सबै नेपालीहरूमा संविधान दिवसको विशेष शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।यसबीच राजदूतावासमा कार्यरत यस बर्षको उत्कृष्ट कर्मचारीको रूपमा इलताज मिरघानीलाई नगद सहित सम्मान गरिएको थियो ।
दूतावासका प्रथम सचिव कृष्ण कुमार सुवेदीले स्वागत गरेको कार्यक्रम दूतावासका सहचारी सन्ध्या भट्टराईले सहजीकरण गरेकी थिइन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान–२०७२’ जारी भएको घोषणा गरेका थिए ।